
माेरङ – कोशी प्रदेशमा लागुपदार्थ दुर्व्यसनी चुनौतीपूर्ण अवस्थामा रहेको कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीले बताएका छन्। प्रदेशको जिम्मेवारी सम्हालेको १५ औं दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश प्रहरी प्रमुख कार्कीले गंभीर चुनौतिपूर्ण अवस्थामा रहेको लागुऔषधको समस्या नियन्त्रणका लागि रणनीतिसहित काम गर्ने बताए।
विगत १५ दिनभित्र प्रदेशका विभिन्न स्थानमा गरि १ हजार २ सय किलोग्राम गाजा र ३ सय ग्राम खैरो हिरोइनसहित विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको प्रदेश प्रहरी प्रमुख कार्कीको भनाई छ।
उनले भने, “लागुऔषधको समस्या प्रदेशमात्र नभएर मुलुकभर रहेको छ। यसलाई नियन्त्रण प्रहरीसंगै सबै समाजको उत्तिकै जिम्मेवारी छ। सबैले साथ सहयोग गरे लागुपदार्थ दुब्र्यवसनीलाई नियन्त्रणमा ल्याउन सकिनेछ। यसका लागि आवश्यक जनचेतनामूलक कार्यक्रमपनि उत्तिकै आवश्यक छ।”
पत्रकार सम्मेलनका क्रममा प्रमुख कार्कीले उत्कृष्ट पुलिसिंगमार्फत प्रहरी सेवालाई परिणाममुखी र नतिजामुखी बनाउने उल्लेख गरे।
प्रहरीको विशेष भूमिका शान्तिसुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान, लगायतमा केन्द्रीत रहेको बताउँदै प्रहरी प्रमुख कार्कीले गृहमन्त्रालयको निर्देशन र नीति नियममा रहेर प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाउने जानकारी दिए। गएको १५ दिनभित्र प्रदेशका विभिन्न जिल्लाबा ४५ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जानकारी दिदैं उनले भने, “विभिन्न मुद्धामा अदालतले दोषी ठहराएका र सजाय भुक्तान नगरिकन फरार रहेकाहरुलाई पक्राउ गरिएको हो। यसक्रममा गएको १५ दिनमा ४५ जनालाई पक्राउ गरिएको छ।फरार रहेकालाई पक्राउ गर्नु प्रहरीको अभियान नै हो। यसक्रममा प्रहरीले १६ वर्ष कैद र २६ लाख रुपैया जरिवाना असुल भएको छ।”
केहीदिन अघि गृहमन्त्री रमेश लेखकले भन्सार छली र तस्करी रोक्न निर्देशन दिएका थिए। सो विषयमा प्रदेश प्रहरी प्रमुख कार्कीले गएको दुई सातामा प्रदेशका विभिन्न नाकाबाट ४ करोड रुपैया बढिको अवैध सरसमान बरामद गरि भन्सार कार्यालयमा बुझाएको बताए।
त्यसैगरि, प्रदेश राजधानी विराटनगरमा ट्राफिक ब्यवस्थापन स्रोत साधन, जनशक्ति अनुरुप नै काम भइरहेको उनले बताए। यद्धपी ट्राफिक ब्यवस्थापनको काम गंभीर रहेको बताएका उनले सडक दुर्घटना नियन्त्रणमा प्रहरीसंगै सवारीसाधन चालक, पैदलयात्री समेत सचेत हुनुपर्नेमा जोड दिए। उनले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कार्वाही गर्दै प्रहरीले ५५ लाख रुपैयाबराबरको राजश्व असुल गरिएको बताए।