
काठमाडौँ– विश्वकप लिग-२ मा नेपाल आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ। यो पटक नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग लिग दुईका खेलहरू खेल्ने छ।
आज नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोलीसँग नेपाली समय अनुसार दिउँसो ३:४५ बजे प्रतिस्पर्धा गर्दै छ। यसअघि गत कार्तिक ११ देखि १९ कात्तिकसम्म अमेरिकामा भएको विश्वकप लिग-२ को खेल खेलेको थियो। करिब सात महिना पछि नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किन लागेको हो।
सात महिना अघि भएको खेलमा नेपालले स्कटल्यान्ड र अमेरिकासँग खेलेका ४ मध्ये २ खेलमा हार, एक खेलमा जित र अर्को एक खेल अङ्कविहीन भएर टुंग्याएको थियो।
त्यो सिरिजमा नेपालले ३ अङ्क मात्र पायो। घरेलु टोली अमेरिकासँग २ वटै खेल गुमाउँदा स्कटल्यान्डसँग १ खेलमा जित र अर्को एक खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो। स्कटल्यान्ड विरुद्ध नेपालले करिब ७ महिना पछि जित निकालेको थियो। उक्त जितको करिब ७ महिनापछि पुन भिड्दा स्कटल्यान्ड विरुद्धको जितको निरन्तरतामा नेपाल रहने छ।
अङ्क तालिका सुधार्ने चुनौती
विश्वकप लिग-२ को जारी साइकलमा नेपाल अङ्क तालिकाको पुछारमा रहेर संघर्षरत रहेको छ। अघिल्लो संस्करणमा जस्तै अब नेपालले जादुमयी प्रदर्शन गरेमात्र एकदिवसीय वरियता र एकदिवसीय विश्वकपको सम्भावना कायम रहन्छ। अघिल्लो साइकलमा नेपालले १२ मध्ये ११ खेल जितेर एकदिवसीय विरियता जोगाएको थियो भने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको थियो।
तर यो पटक नेपाललाई चुनौतीपूर्ण अवस्था रहेको छ। ८ टोली सहभागि प्रतियोगिता विश्वकप २०२७ को छनोट सिरिज समेत हो। लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँदा पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ।
जारी लिग-२ को श्रृंखलामा नेपाल १२ खेलबाट केवल २ जित निकालेर ६ अङ्कका साथ पुछारमा छ। अङ्क तालिकामा अमेरिका २० खेलबाट २८ अङ्क बनाएर शीर्ष स्थानमा रहँदा नेदरल्यान्ड र ओमानले समान २० खेलबाट २६ र २४ अङ्क बनाएर दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
स्कटल्यान्ड १६ खेलबाट २० अङ्क बनाएर चौंथो स्थानमा रहँदा क्यानडा २० खेलबाट २० अङ्क बनाएर पाँचौं स्थानमा रहेको छ। नामिबियाले पनि २० खेल बाट १४ अङ्क बनाएर छैटौं स्थानमा रहँदा १६ खेल खेलेको युएइको पनि ६ अङ्क रहेको छ।
तर सबै भन्दा कम खेल अर्थात १२ खेल मात्र खेलेको नेपालको पनि ६ अङ्क छ। त्यसैले बाँकी खेलमा नेपाललाई हारको छुट छैन। अङ्क तालिका सुधारका लागि पनि यो खेलमा मात्र होइन जारी सिरिजमै शतप्रतिशत नतिजा निकाल्नु पर्ने चुनौति रहेको छ।
नेपालको तर्फबाट आधिकारीक प्रतियोगितामा डेब्यु गर्दै प्रशिक्षक स्टुआर्ट ल
गत चैतमा नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएको दुइ महिना पछि स्टुआर्ट लले औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पहिलो खेल खेल्दै छन्। मुख्य प्रशिक्षक स्टुआर्ट लको नेतृत्वमा नेपाली टोलीले सोमवार पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै गर्दा सुरुवातबाटै उनमा चुनौती रहने छ।
ल नियुक्त भएपछि हङकङ सिरिजमा नेपालले सहभागिता जनाए पनि त्यति बेला मुख्य प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका थिए।
नेपालको प्रशिक्षक हुनुअघि ल अमेरिकाको मुख्य प्रशिक्षक थिए। उनले अमेरिकालाई टी-२० विश्वकपको सुपर ८ मा पुर्याएका थिए। चुनौतिनै चुनौतिले भरीएको नेपालको यात्रा उनका लागि पहिलो खेलबाटै ‘गर या मर’ का रुपमा रहेको छ।
हेड टु हेडमा नेपाल बलियो
स्कटल्याण्ड बिरुद्ध हेड टु हेडमा नेपाल तुलनात्मक रुपमा बलियो छ। अहिले सम्म भएका ८ खेलमा नेपालले ४ खेलमा जित निकाल्दा स्कटल्याण्डले ३ खेल जितेको छ।
नेपाल र स्कटल्याण्डबीचको १ खेल वर्षाका कारण रद्द भएको थियो। प्रतियोगिता अघि स्कटल्याण्डको ‘ए’ टोलीसँग २ अभ्यास खेल खेल्ने तालिका रहेको भएपनि एक मात्र खेल भएको थियो।
एक खेलमा नेपाल पराजित हुँदा दोस्रो खेल भने वर्षाका कारण नतिजाविहीन रह्यो।