श्रद्धाञ्जलि

गणेश रसिक: दुखैदुखबीच पनि कहिल्यै रोकिएन सिर्जनशीलता

गणेश रसिक: दुखैदुखबीच पनि कहिल्यै रोकिएन सिर्जनशीलता
+
-

सुखभन्दा दुःख बढी व्यहोरेका स्रष्टा गणेश रसिकको वियोगान्त जीवनले ७८ वर्षमा सधैंका लागि विश्राम लियो। जेठ १८ गते आइतबार रसिकले प्राण मात्रै छोडेनन्, पारिवारिक वियोगमा बाँच्ने आदत र क्यान्सरको पीडालाई पनि छोडे।

गीत, संगीत र साहित्यमा उनले बनाएको उचाइ मृत्यु पर्यन्त रहने छ, ‘धेरै सम्झे धेरै हुन्छ, थोरै सम्झे थोरै हुन्छ’ भन्ने गीत बजिरहनेछ। गीत संगीतबाट उनले जे जे पाए, मेहनतले पाए। कला र प्रतिभाले पाए। तर जे गुमाए भाग्यले गुमाए भन्नेहरू पनि छन्, उनलाई चिन्नेहरूले।

मृत्यु सत्य हो। त्यो टारेर टारिन्न। तर उनले गरेको कर्म यो जगतमा बाँचिरहने छ। ‘घरबेटी आमै आँगनमै देऊ न मलाई बास’ भनेझैँ आम श्रोतापाठकको मनमा बासिरहने छ, उनको स्वर। उनले लेखेको गीत, साहित्य।

भनिन्छ, जति संगत हुन लेखेको छ त्यति नै हुन्छ। उनले कतै भनेका पनि थिए, ‘मैले मेरो परिवारको सदस्यसँग चाहेजति संगत गर्न पाइनँ। ती सबै छोटो समयका लागि आएका रहेछन्।’

भोजपुरको छिनामखुमा जन्मिएका रसिकको जीवन काठमाडौँमै बित्यो। उपत्यकाका साँघुरा गल्लीहरूमा गीत खोज्दा–खोज्दै गयो। ‘गीत-संगीतमा हुन्थिनँ भने उहिल्यै मरिसक्थे’ भन्दै आएका रसिकलाई यो पटक मृत्युले जित्यो। पटकपटक मर्ने कोसिस गर्दा पनि मृत्यु डराएको कुरा उनै सुनाउँथे, तर यो पटक रसिक मृत्युसँग हारे।

मृत्यु सत्य हो। त्यो टारेर टारिन्न। तर उनले गरेको कर्म यो जगतमा बाँचिरहने छ। ‘घरबेटी आमै आँगनमै देऊ न मलाई बास’ भने झैँ आम श्रोता पाठकको मनमा बासिरहने छ, उनको स्वर। उनले लेखेको गीत, साहित्य।

विगत ६ वर्षदेखि उनी प्रोस्टेटको क्यान्सरका कारण थलिएका थिए, त्यसैमा एक्लो थिए। उनको एक्ली छोरी लण्डनतिर थिइन्। घरमा बुहारीको साथ र सहयोगले गीत–कविता कोरिरहेका थिए।

कतै गीत भए, कतै संगीत, कतै संस्मरण भए, कतै उपन्यास। उनी भन्थे,’म नमज्जाले छरिएँ।’ जहाँ जति छरिए पनि उनले आफूलाई स्थापितचाहिँ गरेका थिए।

आमा बित्दा उनी ७–८ वर्षका थिए। उनले कतै भनेका पनि थिए,’म त आमासँग पनि धेरै बस्न पाइनँ। न त दाजुभाइहरूसँग बस्न पाएँ।’

उनले ‘दसगजामा उभिएर’ लेखेको संस्मरण छोरो निमेषलाई नै सम्बोधन गरेका थिए। त्यो किताब पढ्ने जो कोहीलाई लाग्न सक्छ— रसिकले आँसुले लेखेका हुन् कि मुटु चिरेर रगतले?’

बहिनी सानी थिई। हुर्काउने जिम्मा उनैका काँधमा पर्‍यो। बाले दोस्रो विवाह गरेर पाखा लागे। २०४१ सालतिर भाइ घरकै झिँगटीको छानोमा झुन्डिएर मर्‍यो। माइलो भाइ प्रहरीमा थियो तर माओवादी द्वन्द्वमा मारियो। साइँलो भाइ दुर्घटनामा बित्यो। एक्लो छोरो निमेश २०६७ साल मंसिर २४ को रात इलाममा ओछ्यानमै सुतेको अवस्थामा मृत भेटियो। त्यो क्षण पनि पीडा सहे उनले।

उनले ‘दसगजामा उभिएर’ लेखेको संस्मरण छोरो निमेषलाई नै सम्बोधन गरेका थिए। त्यो किताब पढ्ने जो कोहीलाई लाग्न सक्छ— रसिकले आँसुले लेखेका हुन् कि मुटु चिरेर रगतले?’

छोरी लण्डन गएपछि उनको साथी थिइन् उनकै श्रीमती । रसिकले पटकपटक मृत्युको बाटो रोज्न खोज्दा उनैको श्रीमतीले बचाएको कुरा उनकै मुखबाट सुन्न पाइएकाे थियाे। तर महामारी कोरोनाले उनको श्रीमतीलाई लग्यो। एउटा घटना बिर्सिन नसक्दै परिवारको अर्को सदस्य गुमाउँदाका पीडा उनले भोगे। उनले देखे। उनले सहे।

‘पारिवारिक जीवनमा थुप्रैपटक हन्डर खाएका रसिक दाइलाई साह्रै अभागी मान्छे भन्छन् तर म भन्छु उहाँले दुःख पाउनु भयो तर काम छोड्नु भएन,’ संगीतकार आभासले भने, ‘मैले लामो संगत गरें उहाँसँग, बडो हार्दिक मान्छे हुनुहुन्थ्यो।’

नेपाली गीतसंगीतमा मात्रै काम गरेनन् रसिकले, सरकारी पदमा बसेर पनि काम गरे। रत्न रेकर्डिङ संस्थानको महाप्रबन्धक भए। राष्ट्रिय नाचघरको महाप्रबन्धक। साझा प्रकाशनको कार्यकारी अध्यक्ष। संगीत नाट्य एकेडेमीको प्राज्ञिक पदमा बसेर नेपाली भाषा र साहित्यमा योगदान गरे।

साहित्य, संगीत, गायनमा मात्रै हाेइन राजनीति, पत्रकारितामा पनि भेटिन्छन् रसिक। उनकाे संघर्ष समय र नेपाली राजनीतिक रङ्गहरू पनि बदिलिरह्यो। नेपाली प्रगतिशील साहित्यिक—सांस्कृतिक आन्दोलनलाई नेतृत्व गर्ने सारथीका रूपमा उदाएको राल्फा आन्दोलनकै प्रभाव थियो, रसिकको झोडा उपन्यास। मञ्जुल, रायन, रामेशहरूको टिममा रसिक थिए। रेडियो नेपालबाट आउने लोकगीत प्रतियोगितामा मेची अञ्चलबाट छानिएका रसिक मञ्जुलका अच्छा दोस्त थिए। राल्फामा करिब ६ महिना बसेका थिए। ‘गणेश दाइसँग मेरो पहिलो भेट रसियन कल्चरमा उहाँको कन्सर्टमा भएको थियो। त्यो भेटपछि नै हाम्रो उठबस बाक्लिएको थियो। निकै सरल र हार्दिक व्यक्ति हुनुहुन्थ्यो,’ आभासले भने,’नेपाली संगीतले उहाँको योगदानलाई सधैं सम्झिने छ।त्यो बेला उहाँले गाएका गीतको रेडियोमा एकदम हाइट थियो।’

जीवनका अनेकन घुम्ती पार गर्ने क्रममा ‘भविष्यमा हुने घटनाबारे सपनामा नै संकेत पाउँछु भनेका रसिकले आफ्नै मृत्युका बारेमा यसो भनेको थिए, ‘अब दुई तीन वर्ष पनि बाँच्दिनँ होला।’

२०२१—२०२२ सालतिर राल्फामा जोडिएका रसिक २०२४ सालतिर ‘लेकाली’ समूहमा जोडिए। लेकाली समूहमा कवि लेखक हिरण्य भोजपुरेलगायत थिए। पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका रसिक नेपाली गीतसङ्गीत क्षेत्रको बहुआयामिक व्यक्तित्व हुन्। जीवनमा सबै कुरामा सफल भएका रसिक आफूलाई असफल ठान्थे। साहित्यिक यात्रामा रसिकले ‘क्षितिजलाई छुन खोज्दा’ कथा संग्रह, २०२७ सालमा एउटा ‘सारङ्गीभित्र’ अर्को कथा संग्रह प्रकाशन गरे। कथा लेखनलाई पछाडि सारेर गीत लेखन र गायनलाई पनि निरन्तरता दिए। ‘धेरै चीजमा लागेर बाँडिएँ। एउटै चिजमा लाग्नुपर्दोरहेछ। नेता पनि हुन खोजें। गायक संगीतकार पनि हुन खोजें। लेखक पनि हुन खोजें,’ उनी भन्थे, ‘जीवनमा लेख्दा र संगीत गर्दा मात्रै स्थिर भएँ हुँला।’

जीवनका अनेकन घुम्ती पार गर्ने क्रममा ‘भविष्यमा हुने घटनाबारे सपनामा नै संकेत पाउँछु भनेका रसिकले आफ्नै मृत्युका बारेमा यसो भनेको थिए, ‘अब दुई तीन वर्ष पनि बाँच्दिनँ होला।’

आखिर उनको जीवन उनैले भनेको जस्तो भयो।

मेरो आपत्ति उहाँले राजाप्रति लेखिएको गीतमा थियाे। मेरो बैचारिक असहमति थियो। म त्यो मन पराउँदिनथें। तर उहाँका गीतका शब्दहरू साहित्यिक पाराका थिए जसले मलाई सधैं आकर्षित गर्‍यो।

उनको गीत लेखन र गायनमा नेपाली समाजको दुःख, संघर्ष, उन्नति र सपनाको सरल प्रस्तुति तर गम्भीर अर्थ भेटिन्छन् । एउटा आरोह–अवरोह, एउटा फैलावट जस्तो लाग्छ गणेश रसिकको व्यक्तित्व। ‘संसारमा प्रेम र दुःखका गीत नै बढी लेखिन्छन् र ती गीत सयौँ वर्षसम्म शाश्वत रहन्छन्,’ उनले भन्दै आएका थिए।

कवि विमल निभा रसिकको गीत संगीतबाट आकर्षित भएको कुरा गर्छन्। ‘गणेश सरको लोकलयबाट शब्द टिप्ने पद्धतिप्रति म साह्रै आकर्षित थिएँ,’ कवि बिमल निभाले भने, ‘तर मेरो आपत्ति उहाँले राजाप्रति लेखिएको गीतमा थियाे। मेरो बैचारिक असहमति थियो। म त्यो मन पराउँदिनथें। तर उहाँका गीतका शब्दहरू साहित्यिक पाराका थिए जसले मलाई सधैं आकर्षित गर्‍यो।’

कवि निभाले आफू साझा प्रकाशनको महाप्रबन्धक हुँदा रसिक अध्यक्ष भएर आएको तर लामो समय सँगै काम गर्न नपाएको पनि स्मरण गरे।

नेपाली साहित्यिक क्षेत्रमा कथा, कविता, उपन्यास, संस्मरण र निबन्ध विधाका दर्जनभन्दा बढी संग्रह पनि प्रकाशित गरेका रसिक २००४ सालमा जन्मेका थिए। बीए सम्मको औपचारिक शिक्षा हासिल गरेका रसिकले ३१ बर्षसम्म पदमा रहि विविध जिम्मेवारी निर्वाह गरे।

मेरो निधनपछि तामझामसहित शवलाई प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रतिष्ठानमा नराख्नु। सेल्फी खिच्न नदिनु। गुमनाम तरिकाले मेराे लास आर्यघाट लैजानु र मेसिनमा हाल्दिनु। बरु सक्छाैँ भने मेराे अस्तु भाेजपुर लगेर आमा छाेरासँगै राखिदिनु।

जीवनका सबै जागिरबाट बिरक्तिएर तेह्रथुम, धनकुटा हुँदै इलाम पुगेका रसिकले ‘दशगजामा उभिएर’ ‘आकाशगंगाको ओतमुनि,’ ‘गणेश रसिकका गीतहरू,’ ‘जब सिस्नोहरू टेक्दै हिँडेँ,’ ‘स्वाधीनताको पीडा,’ ‘क्षितिजलाई छुन खोज्दा,’ ‘सारङ्गीभित्र बिलाउँदै गएको गीत’ जस्ता उनका कृति प्रकाशित गरेका छन्। ‘दशगजामा उभिएर’ले २०६३ सालको पद्म श्री पुरस्कार प्राप्त गरेको थियो। उनले गोर्खा दक्षिण बाहु, रत्न श्री स्वर्णपदक, वीरेन्द्र ऐश्वर्य पदक, छिन्नलता गीत पुरस्कार, पद्म श्री साहित्य सम्मान, राष्ट्रिय कलाश्री पुरस्कार, नारायण गोपाल सङ्गीत पुरस्कार, नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारलगायत दर्जनौँ पुरस्कार र पदक पाएका थिए।

नातिकाजी, अमर गुरुङ, बच्चु कैलाश, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी र अरुणा लामापछिको दोस्रो पुस्ताको होनहार प्रतिभा थिए रसिक। आफ्नो लेखनीमा सामाजिक परिवेशको सुन्दर वर्णन, स्थानीयता र स्वरमा माटोप्रतिको माया र देशभक्तिको भावना जगाए।

बेलायतबाट छाेरी आएपछि मंगलबार अन्त्येष्टि हुने भए पनि रसिकले परिवार र आफन्तलाई भनेका थिए, ‘मेरो निधनपछि तामझामसहित शवलाई प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रतिष्ठानमा नराख्नू। सेल्फी खिच्न नदिनू। गुमनाम तरिकाले मेराे लास आर्यघाट लैजानू र मेसिनमा हाल्दिनू। बरु सक्छाैँ भने मेराे अस्तु भाेजपुर लगेर आमा छाेरासँगै राखिदिनू।’

उनले भनेअनुसार नै उनको मंगलबार पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि हुँदै छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?