
नेपालगञ्ज – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजा फर्काउन काठमाडाैँमा आन्दाेलन गरिरहेकाहरुलाई घर फर्किन आह्वान गरेका छन्।
नेपाली कांग्रेस, बाँकेकाे क्षेत्र नम्बर २ काे तेस्राे क्षेत्रीय सम्मेलनकाे उद्घाटन गर्दै महामन्त्री थापाले नेपालका राजा कहिल्यै राजावादी नभएकाले सडकमा आन्दाेलन गरेर बिरामी नहुन आन्दाेलनकारीलाई आग्रह गरे।
‘घर फर्किनुस् साथीहरु। राजा फर्काउन घाममा आन्दाेलन गरेर बिरामी हुने काम नगर्नुस्, ल। मानाैँ, राजा फर्किहाले पनि संवैधानिक भएर बस्दैनन्, तपाईंहरुलाई नै काेच्छन्,’ महामन्त्री थापाले भने, ‘नेपालकाे राजसंस्था संवैधानिक बन्दैन।’
महामन्त्री थापाले नागरिकमा देखिएकाे उकुसमुकुस र असन्तुष्टिलाई भजाएर आफ्नाे दुनाे साेझ्याउन थालिएकाे भन्दै व्यवस्था खराब नभएकाे कुरा जनतालाई बुझाउनुपर्ने बताए।
‘नागरिककाे असन्तुष्टिलाई व्यवस्था खराब भएकाले अवस्था खराब भएकाे भन्नेतिर माेडिएकाे छ,’ थापाले भने, ‘याे बेलामा व्यवस्था ठीक छ। अवस्था बदल्न सुधार गर्दै छाैँ भनेर बाटाे देखाउनु पर्छ।’
थापाले चालक राम्राे नभएकाे कुरालाई गाडी र बाटाे नयाँ बनाउनुपर्छ भन्नु गलत हुने बताए। उनले चालक परिवर्तन गरेर अगाडि बढ्न सकिने बताए।
उनले संघीय लाेकतान्त्रिक व्यवस्था ठीक भएकाे र यहीँभित्र नागरिककाे अवस्था बदल्छाैँ भनेर नागरिकलाई भराेसा दिलाउनु पर्ने उल्लेख गरे।
यस्तै, नेपाली कांग्रेस र एमालेले सरकार बनाउँदा ७ बुँदे सहमति गरेकाे र त्यसमा संविधान संशाेधनकाे कुरा उल्लेख गरिएकाले त्यसलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।। उनले संघ, प्रदेशकाे खर्च कटाैती गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।
क्षेत्रीय सभापति रमेश गुप्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रीय सदस्यद्वय मधु आचार्य र मैकुलाल वाल्मीकि, प्रदेश सभापति अमर पुन, जिल्ला अध्यक्ष नारायण गाैडेलले कांग्रेसलाई बलियाे बनाएर लैजान गुट उपगुट हटाउनुपर्ने बताए। साे अवसरमा कांग्रेस छाेडेर नागरिक उन्मुक्ति पार्टीमा गएका चन्तुराम थारु र लक्ष्मण थारु कांग्रेसमा फर्किएका छन्।