
हुम्ला- कर्णाली प्रदेश सरकारले बुधबार नीति तथा कार्यक्रम ल्याउने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न लागेको हो ।
बुधबार दिउँसो ३ बजेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका कार्यवाहक प्रमुख मियाँले कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हालेका थिए । यसअघि सरकारले प्रस्तुत गरेको प्रि-बजेटमा प्रदेश सरकारले आगामी नीति, कार्यक्रम तथा बजेट समृद्ध कर्णालीः सुखारी कर्णालीवासीको दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा, सम्मानजनक रोजगारी, उच्च आर्थिक वृद्धिमा केन्द्रित गराउने जनाएको थियो ।
यस्तै प्रदेशको आर्थिक, सामाजिक अवस्था र भौगोलिक स्थितिलाई दृष्टिगत गर्दै विकास प्रक्रियामा संघ, प्रदेश, स्थानीय तह, निजी, गैरसरकारी, सामुदायिक क्षेत्र, विकास साझेदारहरूबीच सहकार्यमूलक विकास ढाँचा अवलम्बन गर्ने नीति लिइने भएको छ ।