
काठमाडौँ – ‘लडिया’ कुनै समय तराईको जीवन थियो। तराईवासी खेतबारी एवम् वनघारी जाँदा ‘लडिया’बिना कमै जान्थे। किनभने खेतबारीमा फल्ने धानमकैदेखि वनघारीमा हुने घाँसदाउरा लडियाले बोकी ल्याउँथ्यो।
लडिया प्रतिष्ठासँग पनि जोडिएको थियो।
जोसँग लडिया छ, ऊ सम्पन्न परिवारका रुपमा रहन्थ्यो। किनकि लडिया चल्नका लागि गोरु, राँगाले तान्नुपर्थ्यो। त्यसका लागि पनि गोरु, राँगा पाल्नुपर्थ्यो। गोरु, राँगा त खेतबारी जोत्नका लागि पनि अनिवार्य घरमा हुनुपर्थ्यो।
यसअर्थ लडिया तराईको यातायातको साधन थियो। धुले सडकमा लाइन लागेर लडिया गुडि हिँड्थे। मान्छे बोकी हिँड्थे। कुनै सामान एक ठाउँदेखि अर्को ठाउँ लगि छाड्थे।
तर अहिले तराईका घरघरमा पाइने ती लडिया गुड्न निकै कम भएका छन्। ‘पहिले यहाँ लडिया सबका घरमा हुन्थो। अहिले त धेरै कम भएको छ’, बर्दिया राजापुर नगरपालिका ३ तिग्रा गाउँमा शिवप्रसाद थारु भन्छन्।
थारुले भनेको जस्तै लडिया राजापुरमा मात्र कम भएको होइन। सिंगो बर्दियामा मात्र पनि होइन, तराई क्षेत्रमै लडिया चलाउन छाडिएको छ। गुडि हिँड्ने लडिया घरमै जमि बसेको छ, कुनै एक कुनामा।
गोरु, राँगा नै पाल्न कम भइसकेको छ। अब खेतबारी जोत्न गोरु, राँगा चाहिँदैन। गोरु, राँगाले गर्न काम ट्रयाक्टरले गरिदिएको छ। लडियाले भन्दा अब ट्रयाक्टरले धेरै सामान बोकिदिने गरेको छ।
त्यसैले लडियाको महत्व कम भएपछि अहिले प्रयोग हुन छाडेको छ। तराईमा घरदेखि सडकमा देखिने ती लडिया अहिले निकै कम भएको छ।
लडिया रोजगारीको माध्यम पनि थियो। लडिया नहुने लडिया हुनेलाई काम लगाउँथे। त्यो पनि अहिले कम भएको छ। ‘पहिला धेरै बोलाउँथे। तर अहिले कम बोलाउँछन्’, थारु भन्छन्।
प्रविधिले मारेको फड्कोसँगै लडिया कतै लरबराएको छ। हराउँदै गएको छ।