
धनगढी- बाजुराको बुढीगंगा नगरपालिका- ६ स्थित बाम्का बजारमा शुक्रबार भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल चालिस लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बाजुरा आगलागी पीडितका लागि तत्काल बुढीगंगा नगरपालिकालाई चालिस लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुरामा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भीक चरणमा ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए ।
उनका अनुसार आगलागीको थप विवरण प्राप्त भए पछि प्रदेश सरकारले थप सहयाेग बारे निर्णय गर्नेछ । मानवीय सहायता स्वरुप तत्काललाई प्रदेश सरकारले सम्बन्धित पालिकालाई सो रकम उपलब्ध गराउने र पालिकाले मापदण्ड तयार गरेर आगलागी पीडितलाई रकम उपलब्ध गराउने छ ।
जेठ २३ गते दिउसाे बाम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो । आगलागीबाट ३५ पसल जलेर नष्ट भएका थिए । प्रारम्भिक विवरणअनुसार त्यहाँ ८ कराेडभन्दा बढी क्षति भएकाे छ ।
साथै प्रदेश सरकारले मौज्दातमा रहेका १५ वटा ठूलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल राहत स्वरुप तत्काल बाजुरा पठाउने निर्णय पनि गरेको छ ।
आगलागफलगत्तै पूर्वप्रदेश प्रमुख देवराज जाेशी नेतृत्वकाे टाेलीले मुख्यमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएकाे थियाे ।