
धनगढी – सुदूरपश्चिम प्रदेश सभाकाे बैठक दुई घण्टा सारिएकाे छ। आज साँझ ५ बजेका लागि बाेलाइएकाे बैठक प्राविधिक कारण भन्दै बेलुका ७ बजेका लागि सारिएकाे प्रदेश सभा सचिवालयले सूचना जारी गरेकाे छ।
आजकाे प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ। तर, दिउँसाे २ बजेसम्म पनि प्रदेश सभामा पेश हुने बजेट फाइनल नभएकाले बजेटलाई अन्तिम रुप दिन प्रदेश सभा बैठक सारिएकाे स्राेतले बतायाे।
खासगरी सत्ता पक्ष, प्रतिपक्ष सबै आफ्ना बढीभन्दा बढी याेजना समेट्न अडान राखेपछि बजेटले अन्तिम रुप लिन सकेकाे छैन। बजेटका विषयलाई लिएर सत्तापक्षमै असन्तुष्टि बढेपछि भागबण्डा मिलाउन समय लागेकाे स्राेतले बतायाे।
यता सुदूरपश्चिम प्रदेश सरकारले २ अर्ब २३ करोड रुपैयाँ सांसदहरूलाई वितरण गरेको छ। सुदूरपश्चिम प्रदेशका ५३ प्रदेश सभा सदस्यहरूले प्रदेश सरकारबाट २ अर्ब २३ करोडका योजना पाएका हुन्।
सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष विजयी भएका ३२ प्रदेश सभा सदस्यहरूलाई पाँच करोड र समानुपातिक २१ जना प्रदेश सभा सदस्यहरूले तीन करोडका दरले योजना पाएका हुन्।
सुदूरपश्चिम प्रदेश सरकारका बाहालवाला मुख्यमन्त्री, मन्त्रीहरू र राज्यमन्त्रीहरूले समेत अन्य प्रदेश सभा सदस्यहरूसरह बजेट पाएका छन्। प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यहरूलाई पाँच करोडका योजना माग गर्न भनेको थियो।
प्रदेश सरकारले १० लाखका २० वटा र २५ लाखका १२ वटा योजना माग गर्न भनेको थियो। तर, प्रदेश सभा सदस्यहरूले पाँच लाखका योजनासमेत माग गरेका छन्।
प्रदेश सरकारले स्थानीय तहमा बजेट पठाउने सर्तमा प्रदेश सभा सदस्यहरूका पाँच लाखका योजनासमेत बजेट तथा कार्यक्रममा समावेश गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आकार बढाएर बजेट ल्याउने दाबी गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा बजेटको आकार बढ्ने नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारले बताए।