
काठमाडौँ- पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबिरुद्ध विशेष अदालतमा थुनछेक बहस चलिरहँदा अदालत परिसरमा वकिल र कार्यकर्ताहरूको भिडभाड देखिएको छ।
नेपालका पक्षमा बहस गर्न १ सय २० जनाले वकालतनामा लेखाएका छन् भने बुधबार अपराह्न अख्तियार दुरुपयोग आयोगका तर्फबाट वकिलहरूले बहस गरेका छन्।
वरिष्ठ अधिवक्ता सुशील पन्तले पतञ्जली जग्गा प्रकरण विशेष प्रकारको भ्रष्टाचार भएकाले नेपाललाई थुनामा राखेर छानबिन गर्नुपर्ने जिकिर इजलासमा राखेका थिए।
अदालतभित्र बहस चलिरहँदा बाहिर वकिलहरू र कार्यकर्ताहरू टिभीको स्क्रिनमा बहस हेरिरहेका छन्।
अख्तियारका तर्फबाट बहस सकिएपछि नेपाल पक्षका वकिलहरू बहसमा सामेल हुनेछन्।
न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बुधबार थुनछेक बहस भइरहेको छ। नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी, खम्बहादुर खातीलगायत करिब १ सय २० जनाले वकालतनामा दर्ता गराएका हुन्। बयानका लागि आफ्ना पक्षका कानुन व्यवसायी लिएर नेपाल बुधबार बिहान ११ बजे विशेष अदालत पुगेका थिए।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको छ। पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ। हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी परेपछि अख्तियारले पतञ्जली प्रकरणमा अनुसन्धान अघि बढाएको थियो।