सय खेलको प्रतिक्षासँगै ऐतिहासिक अवसरको नजिक नेपाली महिला फुटबल

सय खेलको प्रतिक्षासँगै ऐतिहासिक अवसरको नजिक नेपाली महिला फुटबल
+
-

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टिमका लागि उज्वेकिस्तान भ्रमण धेरै कारणले ऐतिहासिक छ। महिला फुटबलका लागि परिवर्तित एसियन कपमा स्थान बनाउने र विश्वकपसम्म पुग्ने ढोका रहेको यो प्रतियोगिताको पहिलो खेल नै नेपाली महिला फुटबलको ऐतिहासिक ‘कोसेढुङ्गा’ बन्नेछ।

अर्थात्, आइतबार एएफसी वुमेन्स एसिया कपको छनोटमा आफ्नो पहिलो खेलमा लाओसको सामना गर्दैगर्दा नेपाली महिला फुटबलले एक सयौँ खेल खेल्नेछ। उज्वेकिस्तानको तास्केन्दमा हुने पहिलो खेल नै जित्नुपर्ने स्वाभाविक दबाब पनि नेपाललाई हुनेछ। एक त सयौँ खेललाई ऐतिहासिक बनाउने अवसर र अर्कोतर्फ एसिया कप छनोटका लागि समूहमा शीर्ष स्थानमा रहनुपर्ने दबाब।

सय खेलको यात्रा र नेपाली महिला टिमले भोगेको आरोह–अवरोह


करिब चार दशकअघि महिला राष्ट्रिय टोलीले हङकङको यात्रा गर्दै पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो। सन् १९८६ को एएफसी महिला च्याम्पियनसिप अर्थात तत्कालीन एसिया कप नै यही थियो। त्यो समयमा फुटबलको अन्तर्राष्ट्रिय सहभागिता नै आफैमा नौलो अनुभव रहन्थ्यो।

नेपालजस्तो देशमा महिला फुटबल खेलाडीले फुटबल खेल्ने विषय नै कौतुहलपूर्ण थियो। त्यो समयमा नेपालले रमा सिंहको कप्तानी र खेम गुरुङको प्रशिक्षण प्रतियोगिता खेलेको थियो ।

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालका लागि सहभागितामै सीमित बन्यो। किनकि नेपालले उक्त प्रतियोगितामा हङकङसहित थाइल्यान्ड र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै १२ गोल खायो तर गोलविहीन रह्यो।

त्यसपछि पनि यो प्रतियोगितामा आक्कलझुक्कल नेपाल झुल्किन्थ्यो तर नतिजा स्वाभाविक रुपमा नेपालविरुद्ध गोल वर्षा हुन्थ्यो। त्यही प्रतियोगिता सन् १९८९ मा पुनः हङकङमा नै खेल्यो र २५ गोल खायो तर गोल गर्न भने फेरि पनि असफल भएको थियो।

यो प्रतियोगितामा एसियाको पावरहाउस जापानले १४ गोल गरेको थियो। त्यसपछि नेपालले लगातार चार संस्करणमा सहभागिता जनाएन। अर्थात्, सन् १९९१, १९९३, १९९५ र १९९७ मा नखेलेको नेपाल एकैपटक सन् १९९९ मा फिलिपिन्समा भएको प्रतियोगितामा सहभागिता जनायो।

यो प्रतियोगिता नेपालका लागि फेरि एकपटक खास बन्यो। किनकि नेपालले सर्वाधिक गोल खायो र एक गोल फर्कायो। अर्थात ३० गोल खाँदा एक गोल गर्न सफल रह्यो। त्यो एक गोल उज्वेकिस्तानविरुद्ध नोभेम्बर १६ मा पेमा डोल्मा लामाले गरेकी थिइन्।

सायद यो प्रतियोगितापछिको नेपाली महिला फुटबल बिर्सनलायक विगतका रुपमा सधैँ सम्झनामा आउने छ। किनकि त्यसपछि नेपालले १० वर्ष अन्तर्राष्ट्रिय सहभागिता नै जनाउन सकेन। सुरुवाति १३ वर्षमा केवल १० अन्तर्राष्ट्रिय सहभागिता जनाउन मात्र नेपाल सफल भयो।

फेरि फर्किएको फुटबलसँगै बढेको आशा


नेपाली महिला फुटबलको पहिलो पुस्ताले अन्तर्राष्ट्रिय सहभागिताको अवसर त चाख्यो तर जितको उत्सवबाट सधैँ टाढा रह्यो। अनि अर्को पुस्ता त नजन्मिँदै अन्त्य भयो। त्यसपछि एकैपटक सन् २०१० मा बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुदमा महिला फुटबल पनि समावेश गरिएपछि नेपाल पुनः अन्तर्राष्ट्रिय फुटबलमा फर्कियो।

दक्षिण एसियामा निरन्तर उपाधि दाबेदार छवि बनाएको नेपालले उपाधि ‘जिङ्क’ तोड्न नसक्दा भारत र बंगलादेश सदाबहार चुनौती बनेका छन्।

तर, बढ्दो अन्तर्राष्ट्रिय सहभागिताले नेपाली महिला फुटबललाई विश्वकपमा देख्न चाहने समर्थकहरुको संख्या बढेको छ। यो अपेक्षाका पछाडि पछिल्लो डेढ दशक नेपाली महिला फुटबलको लोभलाग्दो प्रदर्शन रहेको छ। यहीबीचमा नेपालले ८९ अन्तर्राष्ट्रिय खेल खेल्दै ऐतिहासिक रुपमा आफूलाई बलियो दाबेदार बनाएको छ।

एसिया कप छनोटको यो मौका


१९९९ को नोभेम्बरपछि अर्थात २६ वर्षपछि एसियन कप खेल्ने लक्ष्यमा रहेको नेपाली महिला टिमले समूह ‘एफ’ मा रहेर उज्वेकिस्तानसँगै ३ टिमसँग प्रतिस्पर्धा गर्दै छ। छनोट खेल्नु केही दिनअघि नै उज्वेकिस्तान पुगेको नेपाल त्यहाँको मौसमसँग अभ्यस्त हुने प्रयासमा छ।

तुलनात्मक रुपमा गर्मी रहेको उज्वेकिस्तानमा नेपाल आफ्नो लय समाउने प्रयास गर्नेछ। समूहमा नेपालले लाओस, श्रीलंका र आयोजक तथा बलियो उज्वेकिस्तानसँग खेल्नेछ। समूह विजेता टोली आगामी वर्ष अस्ट्रेलियामा हुने महिला एसिया कपमा छनोट हुनेछ।

तीन पटक महिला एसियन कप खेलेको नेपाल पहिलो पटक छनोट चरण पार गरेर यो प्रतियोगितामा प्रतिस्पर्धाको लक्ष्यमा छ। २०२२ मा भारतमा भएको महिला एसियन कपमा नेपाल छनोट हुन असफल भएको थियो।

समूहमा लाओस र श्रीलंका सहज टोली भए पनि उज्वेकिस्तान वरियतामा नेपालभन्दा निकै माथि छ। उज्वेकिस्तान ५१ औँ स्थानमा छ भने नेपाल १०० औँ स्थानमा छ। त्यसैले पनि नेपालका लागि आयोजकविरुद्धको खेल नै निर्णायक हुने सम्भावना बलियो छ। अन्य टोलीमा लाओस १०७ औँ र श्रीलंका १५८ औँ स्थानमा रहेका छन्।

धेरै खेलाडीका लागि यो एसिया कप खेल्ने अन्तिम मौकासमेत हुन सक्छ। जसको संकेत फरवार्ड सावित्रा भण्डारी र कप्तान एन्जीलाले गरेका थिए। एसिया कपको सपना पछिल्लो समय नेपालका लागि निकै टाढाको भएको छ। त्यही भएर जानुअघि फरर्वाड सावित्रा भण्डारीले यसलाई आफ्ना लागि ‘विश्वकप’ जतिकै प्रतिष्ठित भनेकी थिइन्।

त्यसो त नवनियुक्त प्रशिक्षक प्याट्रिक डे वाइल्ड पनि आफ्नो उपस्थितिलाई रवाफिलो बनाउनका लागि यही प्रतियोगितामा छाप छोड्न चाहन्छन्। खेलाडीलाई दबाब दिनु नहुने र क्षमताअनुसारको प्रदर्शन हुने विश्वास राख्छन्। समग्रमा सबैका लागि यो प्रतियोगिता प्रतिक्षित छ। नेपाली खेलाडी यसमा कति खरो उत्रिन्छन् त्यो भने प्रतियोगिताका दौरान हुने प्रदर्शनले बताउने छ।

नेपालको खेल तालिका


– नेपालविरुद्ध लाओस: २९ जुन
– नेपालविरुद्ध श्रीलंका: २ जुलाई
– नेपालविरुद्ध उज्वेकिस्तान: ४ जुलाई

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?