
रुपन्देही – लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीको पहलमा लुम्बिनी प्रदेशका तीन बाल सुधार गृहमा रहेका करिब पाँच सय जना बालबालिकालाई सकारात्मक सोचसम्बन्धी तालिम प्रदान गरिएको छ।
रुपन्देहीस्थित बाल सुधार गृहमा आयोजित कार्यक्रमबाट सुधार गृह रुपन्देहीका १०४ जना, जयन्दु बाल सुधार गृह बाँकेका १९६ जना र नौबस्ता बाल सुधार गृहका १६८ जना बालबालिकाले सहभागिता जनाएका थिए।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी सांसद गिरीले बालबालिकालाई सकारात्मक सोच र जीवन परिवर्तनका सूत्रहरूबारे प्रशिक्षण दिँदै भनिन,ञतपाईंको जीवनमा अहिले खराब समय चलेको हुन सक्छ। तर, सधैं यस्तै हुँदैन। यहाँको बसाइलाई उपयोगी बनाउनुहोस्। आफू परेको मुद्दा, त्यसको अवस्थाबारे जानकारी राख्नुहोस्। उज्यालो समय पनि आउँछ।झ
सांसद गिरीको अगुवाइमा लुम्बिनी प्रदेशका तीन बाल सुधार गृहमा बाल पुस्तकालय स्थापना भइसकेको छ। पुस्तकालय र तालिमको माध्यमबाट सुधार गृहमा रहेका बालबालिकाको मनोबल अभिवृद्धि गर्ने उद्देश्य रहेको सांसद गिरीले बताइन।
रुपन्देही बाल सुधार गृहमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता निमित्त कार्यालय प्रमुख बोधराज आचार्यले गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रतिनिधि भूपबहादुर मल्लले व्यक्त गरे। विशिष्ट अतिथिका रूपमा रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटा सहभागी थिए। कार्यक्रमको सञ्चालन गंगाधर पाण्डेले गरेका थिए।
पुस्तक पाएका बालबालिकाहरूले पढ्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्। सकारात्मक सोचसम्बन्धी तालिमले जीवनप्रति नयाँ आशा पलाएको उनीहरूको भनाइ छ।
सांसद गिरीले लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुधार गृह र कारागारमा रहेका व्यक्तिहरूलाई मागअनुसारको तालिम प्रदान गर्ने व्यवस्था मिलाएको जानकारी दिइन। साथै, आगामी दिनमा अझ धेरै सुधार गृह र बाल आश्रमहरूमा सीपमूलक कार्यक्रम विस्तार गरिने प्रतिबद्धता समेत व्यक्त गरिन।