
बुटवल – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सकारात्मक सोच राख्दै स्वदेशमै अध्ययन गरेर राजनीतिमा सक्रिय हुन विद्यार्थीहरूलाई आग्रह गरेका छन्।
अनेरास्ववियू रूपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै एमाले उपाध्यक्षसमेत रहेका पौडेलले अहिले समाजमा निराशा र नकारात्मकता फैलाउने प्रयास भइरहेका बेला त्यस्ता विकृत मानसिकताबाट अलग रहन आग्रह गरे। उनले युवालाई नेपाललाई अध्ययन र कर्मभूमि बनाउन प्रेरित गरे।
‘नेपालमा भविष्य छैन भन्ने कुरा सत्य होइन,’ अर्थमन्त्री पौडेलले भने, ‘राजनीतिलाई गाली गरेर केही हुदैन । देशको नीति बनाउने राजनीति आवश्यक छ । राजनीतिमा क्षमतावान विद्यार्थी आएर नेतृत्वको स्थानमा पुग्नुपर्छ।’
वर्तमान सरकार युवामैत्री भएको दाबी गर्दै उनले शैक्षिक विकास र सुधारमा सरकार लागिपरेको बताए। ‘नेपालमा अनगिन्ती सम्भावनाहरू छन्,’ उनले भने, ‘जलस्रोत, खानी, पर्यटनलगायतका क्षेत्रलाई उपयोग गरेर नेपाललाई आकर्षक गन्तव्य बनाउन सकिन्छ।’
युवाले ज्ञान, विवेक, प्रविधि र स्रोतसाधनको प्रयोग गरेर देशलाई समृद्ध बनाउनु पर्नेमा पौडेलले जोड दिए। उनले विगतमा इच्छा हुँदाहुँदै पनि शिक्षा प्राप्त गर्न नपाइने अवस्था रहेको स्मरण गराउँदै अहिले अधिकांश अभिभावकले आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि राम्रो विद्यालयमा पढाउने वातावरण बनेको उल्लेख गरे । शैक्षिक वातावरण अनुकूल बनेकाले यस वर्षको एसईई नतिजा पनि उत्कृष्ट आएको पौडेलको धारणा थियो ।
सोही कार्यक्रममा अनेरास्ववियूका अध्यक्ष डा। सुजन कडेरियाले विद्यार्थीहरूलाई आफ्नो रुचिको विषयमा अध्ययन गरी विश्वले गर्व गर्न सक्ने क्षमतावान बन्न प्रेरित गरे । कार्यक्रममा ४ जीपीए ल्याउनेसहित २ हजार ५०० विद्यार्थीलाई सम्मान गरिएको थियो ।