
काठमाडौँ – गत वर्ष सफलतापूर्वक सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) को गतिविधि रोक्न भन्दै राखेपले पठाएको पत्र नै अनधिकृत रहेको पाइएको छ। राष्ट्रिय खेलकुद परिषद्को लेटरहेड प्रयोग गरेको पत्रमा सदस्य सचिव टंकलाल घिसिङले हस्ताक्षर गरेका छैनन्। अझ घिसिङले स्पष्टीकरण र राखेपको लेटरहेड प्रयोग भएको विषयमा कुनै जानकारी नै नगराइएको बताए।
उनले मन्त्रालयले गठन गरेको समितिले राखेपको लेटरहेड प्रयोग गर्न पाउँछ कि पाउँदैन भन्ने इस्यु गम्भीर भएको बताए। उनले भने, ‘मन्त्रालयले गठन गरेको कुनै समितिले राखेपको लेटरहेड प्रयोग गरेको विषय यो महत्वपूर्ण इस्यु हो। जहाँसम्म यो समितिले गरेको निर्णय र सोधिएको प्रश्न छ, त्यसमा सदस्य सचिव बेखबर छ।’
अनियमितता भएको भन्दै गठित छानबिन समिति नै राखेपको अन्डरमा नभएको सदस्य सचिवले जानकारी दिए। उनले भने, ‘छानबिन समिति नै हामीले बनाएको होइन।’
मन्त्रीद्वारा गठित छानबिन समितिको संयोजक रञ्जना प्रधानले क्यानलाई सोधिएको पत्रमा हस्ताक्षर गरेकी छन्। मन्त्रीले प्रधानको संयोजकत्वमा नारायणप्रसाद अर्याल र ऋषिराम पोखरेल रहने गरी तीन सदस्यीय समिति गठन गरेका थिए।
संयोजक प्रधानले आफूले पत्र पठाएको बताइन्। रञ्जनाले भनिन्, ‘खेलकुद मन्त्रालयले छानबिनका लागि भन्दै एक समिति गठन गरेको थियो। त्यसको संयोजकको हैसियत र मन्त्रीज्यूको चाहनाअनुसार मैले क्यानलाई पत्र पठाएको हो।’
उनले आफ्नो उत्तरदायित्व मन्त्रालयअन्तर्गत हुने र क्यानको जवाफ नआइन्जेलसम्मका लागि गतिविधि अगाडि नबढाउन भनेको बताइन्।
रञ्जनाले भनिन्, ‘हामीले १२ घन्टाभित्र पत्रमा मागेको जवाफ नआए फिजिकल्ली भेट्ने कुरा गरेको हो। यो अल्टिमेटम होइन।’
उनले राखेपको लेटरहेडमै पत्र पठाएको तर सदस्य सचिवलाई जानकारी नदिएको बताइन्। उनले भनिन्, ‘म राखेपको बोर्ड सदस्यको हैसियतले संयोजकका रुपमा रहेको छु। यो इस्युलाई चाँडै सुल्झाउनका लागि राखेपको लेटरहेड प्रयोग गरेर पत्र पठाएको हो। तर यो विषयमा सदस्य सचिवलाई जानकारी गराइएको छैन र उहाँ संलग्न हुनुहुन्न।’
समितिको पत्रमा के छ?
समितिले काटेको पत्रमा अख्तियारमा उजुरी परेको भन्दै राखेपले अख्तियारको अनुसन्धान नसकिएसम्म एनपीएलसम्बन्धी कुनै पनि काम नगर्न ठाडो आदेश दिएको छ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गर्दै लेखिएको पत्रमा तीन वटा प्रश्न उठाउँदै सार्वजनिक खरिद ऐनको उल्लंघन, अपारदर्शी बोलपत्र प्रक्रिया र विदेशी नागरिकलाई परामर्शदाता नियुक्त गर्ने संवैधानिक वैधताका विषयमा प्रश्न उठाएर एनपीएलको गतिविधि नै रोक्न निर्देशन दिइएको छ।
पत्रमा १२ घन्टाको अल्टिमेटसमेत क्यानलाई दिइएको छ। पत्रमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेश गर्न सकिने खालको विवरण पत्र प्राप्त भएको मितिले बाह्र (१२) घन्टाभित्र पेश गर्न हुन मिति २०६२/०३/२२ को निर्णयअनुसार जानकारी गराइन्छ।’
पत्रमा अगाडि लेखिएको छ, ‘साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेश गरी यस कार्यदलले प्रतिवेदन पेश गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन कार्य सम्पन्न नहुँदासम्म नेपाल प्रिमियर लिग (एनपीएल)सम्बन्धी कुनै कार्य नगर्नु नगराउनु हुनसमेत जानकारी गराइन्छ।’
यी हुन् समितिले १२ घन्टाभित्र जवाफ दिन क्यानलाई सोधेका प्रश्न
क) नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषद्मा विधानबमोजिम स्थापित संस्थाले सेवा तथा वस्तु खरीदमा सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक खरीद नियमावली २०६४ को प्रतिकूल कार्य गरी एनपीएलको प्रसारणसम्बन्धी कार्य गर्न तपाईंलाई कुन ऐनले अधिकार दिएको हो? स्पष्ट खुलाउनु हुन।
(ख) त्यस संघबाट आयोजित एनपीएल प्रतियोगिता आयोजना गर्ने भन्ने निर्णय लामो समय अगाडि नै भइसकेता पनि त्यस संघबाट निकालिएको बोलपत्रमा स्पष्ट समय नखुलाई गोलमटोल ढंगबाट सार्वजनिक सूचना प्रकाशित गरी स्वस्थ प्रतिस्पर्धा नहुने अवस्था किन सिर्जना गर्नुभएको हो? स्पष्ट खुलाउनु हुन।
ग) त्यस संघबाट आयोजित एनपीएल प्रतियोगिता आयोजना गर्ने क्रममा विदेशी परामर्शदाताको रुपमा श्री मनिश सुदर्शन पाण्डे, जो भारतीय नागरिक हुन् उनलाई परामर्श दातासम्बन्धी कार्य गराउँदा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४४ (२) विपरीत कार्य गर्न मिल्छ? स्पष्ट खुलाउनु हुन।
(घ) त्यस संघबाट आयोजित एनपीएल प्रतियोगिता आयोजना गर्ने क्रममा स्वदेशी प्रशारणकर्ता कम्पनीहरुलाई प्रतिस्पर्धामा आउन नसक्ने गरी किन त्यस खालको संकुचित क्राइटेरिया बनाई सिन्डिकेट कायम गर्न मिल्छ? स्पष्ट खुलाउनु हुन।
ङ) यसै पत्रसाथ संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उ.द.नं. ०-०३०२२ मिति २०६१।०८।०७ र उ.द.नं. ० ०४९८७६ मिति २०६१।११।१२ मा दर्ता भएको उजुरीसमेत राखी पठाइएको छ। उक्त उजुरीमा उल्लेखित विषयवस्तुका सम्वन्धमा स्पष्ट पार्नु पर्ने दायित्व नेपाल क्रिकेट संघको हो? होइन? अतः उक्त दुई वटै उजुरीमा उल्लेखित एनपीएल प्रतियोगिताका सम्बन्धमा उठेका विषय वस्तु स्पष्ट पारी छानबिन कार्यदल निष्कर्षमा पुग्न सहयोग गरी दिनुहुन जानकारी गराइछ। अन्यथा कानुनबमोजिम भई जाने व्यहोरा जानकारी गराइछ।
क्यान भन्छ– नेपाली क्रिकेटमा बनेको ब्रान्ड कमजोर बनाउने षड्यन्त्र
नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले आधिकारिक निकायबाट आउने हरेक पत्रको जवाफ दिनु क्यानको धर्म भएको बताए।
उनले भने, ‘अख्तियार र राखेपको आधिकारिक पत्रहरु र गठित समितिलाई हामीले पटक-पटक जवाफ पठाएका छौँ। तर, अहिले जुन प्रकारले १२ घन्टा अल्टिमेटमसहित आएको पत्र छ, यसले हामीलाई सशंकित बनाएको छ। कतै क्यानलाई पुन ब्यान्ड र षड्यन्त्रपूर्वक बनेको ब्रान्ड ध्वस्त पार्न त खोजेको होइन भन्ने लागेको छ।’
उनले एनपीएल विशुद्ध क्यानको मात्र नभई फ्रेन्चाइज लगानीकर्ताहरुले ठूलो लगानी गरेर नेपाली क्रिकेट विकासमा पुर्याएको योगदानलाई समेत अवमूल्यन गर्न र षड्यन्त्रपूर्वक क्रिकेटलाई पुनः प्रतिबन्धतर्फ लैजानका लागि गरिएको अनधिकृत हस्तक्षेप भएको बताए।