
जनकपुरधाम– धनुषा जिल्ला अदालतमा रहेको कुल मुद्दाको ५६.७८ प्रतिशत फर्स्योट भएको छ। आर्थिक वर्ष २०८१/८२ को असार ३१ गतेसम्ममा गत आवबाट सरेर आएको र चालू आवमा दर्ता भएको ९ हजार ९३२ वटा मुद्दा मध्ये ५ हजार ६४९ वटा मुद्दाको फर्स्योट भएको धनुषा जिल्ला अदालतले जनाएको छ। चालु आवमा अदालतमा ५ हजार ७५३ वटा मुद्दा दर्ता भएको हो।
बुधबार अदालतको हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा धनुषा जिल्ला अदालतका प्रमुख न्यायाधीश चुडामण खड्काले यो वर्ष हालसम्मकै सबैभन्दा बढी मुद्दा फर्स्योट भएको बताए।
उनले यो वर्ष पछिल्लो ७ वर्षकै सबैभन्दा बढी मुद्दा फर्स्योट भएको बताए। आव २०८१।८२ मा देवानीतर्फ ४ हजार १७१ वटा मुद्दा दर्ता भएको हो। जसमा लेनदेनको २ जार ४०१, अंशदर्ताको ७४८, सम्बन्ध विच्छेदको ३१४, माना चामलको ४५ र नाता कायम सम्बन्धी २३ वटा मुद्दा दर्ता भएको हो।
सरकारवादी फौजदारी मुद्दा तर्फ साउन १ गतेदेखि असार ३१ गतेसम्म ७४६ वटा मुद्दा दर्ता भएको हो। जसमा बैँकिंग कसुर सम्बन्धी १३१, करणी सम्बन्धी कसुर ६३ र बहुविवाह।बालविवाह सम्बन्धी २२ वटा मुद्दा दर्ता भएको अदालतले जनाएको छ।
दुनियावादी फौजदारी तर्फ ७६८ वटा मुद्दा दर्ता भएको छ। अदालतको तथ्यांक अनुसार चेक अनादर सम्बन्धी ३४३, घरेलु हिंसा सम्बन्धी ६४ र गाली बेइज्जतीसम्बन्धी २७ वटा मुद्दा परेको हो।
धनुषा जिल्ला अदालतले चालु आवमा ६ हजार ३४६ वटा मुद्दाको वार्षिक फर्स्योट गर्ने लक्ष्य लिएकोमा त्यसको ८९ प्रतिशत लक्ष्य हासिल भएको छ। गत आवको तुल्नामा ९ प्रतिशतले फर्स्योट बढी भएको हो। गत आवमा ५ हजार १७६ वटा मुद्दा फर्स्योट भएको थियो भने ५ हजार ५८४ वटा मुद्दा दर्ता भएको थियो।