
काठमाडौं- पशुपति क्षेत्रमा रहेको किरियापुत्री घर परिसरमा सेतो पहिरनभित्र आफ्ना दुःख लुकाउँदै आफूलाई भेट्न आउनेहरूका अगाडि दिवंगत आमाका कुरा बिस्तारै खोल्छिन्- सपना बोहरा। उनकी आमा ६७ वर्षीया भूमा बोहराको निधन भएको शुक्रबार ८ दिन भयो।
घोराही- १६ रातोमाटेकी, उमेरले ३० पनि नकटेकी सपनाले सानै उमेरदेखि आफ्नो काँधमा जिम्मेवारी लिन थालेकी थिइन्। एसएलसी दिएपछि नै उनी पत्रकारितामा लागेकी थिइन्।

रातको समयमा पशुपति परिसरमा रहेको किरियापुत्री घरमा सपना बोहरा।
उनी यो पेशामा इच्छाभन्दा पनि जिम्मेवारी र परिस्थितिले प्रवेश गरेकी थिइन्।
‘एसएलसी दिएर बसेकी थिएँ, घोराहीको रेडियोमा मान्छे चाहिएको विज्ञापन आयो, हाम्रो परिवार सामान्य स्तरको हो, मलाई पत्रकारिता नै भन्दा पनि जस्तो भए पनि काम गर्नुपर्ने थियो,’ उनले आफ्नो पत्रकारिताको इतिहास सुनाइन्, ‘त्यो रेडियोको कार्यालयमा गएपछि थाहा पाएँ, फर्म भर्न नै ३ सय रुपैयाँ लाग्ने रैछ, मसँग त्यत्ति पैसा थिएन, मैले रिक्वेस्ट गरेपछि मैले उधारोमा फर्म भर्न पाएँ।’ उनको फर्ममा नै ३ सय रुपैयाँ बाँकी लेखिएको थियो।
कतै तालिम नलिएकी सपनाले यसरी पत्रकारिता सुरु गरेकी थिइन्।
त्यसपछि उनी दाङकै गोरक्ष दाैनिकमा आबद्ध भइन्। अहिले उनी मध्यान्ह राष्ट्रिय दैनिकमा काम गरिरहेकी छन्।
उनकी आमा सामान्य गृहिणी थिइन् भने बुवा घर बनाउने मिस्त्री। ‘५,६ वर्ष भयो त्यो पनि गर्न नसक्ने अवस्था आएपछि बुवाले मिस्त्री पेशा पनि छोड्नु भएको छ,’ उनले भनिन्।
उनले पत्रकारितामा काम पाएपछि आमा खुसी भएकी थिइन्। तलब आमालाई बढाएर भनेकी थिइन्। ‘त्यही भएर पत्रकारितासँगै अरु केही काम आयो भने पनि म गर्थेँ। मलाई अफिसको हाकिमभन्दा पनि आमाको डर लाग्थ्यो,’ उनले भनिन्।
उनी बिहानबिहान रेडियोमा पत्रपत्रिकाका समाचार पढ्थिन्। आमाले कुनै दिन सपनाको नाम रेडियोमा आएन भने ‘तैँले हिजो काम गरिनस् कि क्या हो’ भनेर गाली गर्थिन्।
बिरामी भएर अस्पतालमा छँदा पनि आमाले पत्रकारिता नछोड्नू भनेको सम्झिन्छिन् सपना। चार दिदीमध्ये जेठी छोरी हुन् सपना। माइली र साइँलीको प्रेमविवाह भइसकेको छ भने कान्छी पढ्दै छिन्। सपनाले नै काम गरेर कान्छी बहिनीलाई पढाउँदै छिन्।
जेठी छोरी भएर पनि होला र घरको अवस्थाले पनि, सपनाले सानै उमेरमा जिम्मेवारीलाई आफ्नो काँध दिइन्। बिहेतिर उनको ध्यान नै गएन। सानै उमेरमै जसरी पनि जस्तो भए पनि काम गर्नुपर्छ भनेर लागेकी उनी अहिले पनि परिवारको जिम्मेवारी र काममै व्यस्त छिन्।
‘आमा अलिअलि बिरामी त हुनुहुन्थ्यो। तर, बिस्तारै व्यथाले च्याप्दै ल्यायो,’ उनले भनिन्।
घोराही नजिकका नेपालगञ्गज र भैरहवामा उपचारका लागि धाउँदा पनि केही पत्ता नलागेपछि काठमाडौँको वीर अस्पतालमा ल्याएर भर्ना गराइन्। ‘सास हुँदासम्म हामी आशामा थियौँ। आमालाई झनै च्याप्न थाल्यो, काठमाडौं आएपछि थाहा भयो, आमालाई फोक्सोको क्यान्सर भइसकेको रहेछ,’ उनले बताइन्।
डाक्टरहरुले सक्दो कोसिस पनि गरे तर आमालाई बँचाउन सकिएन। काठमाडौं झण्डै दुई महिना राख्दा १० लाख रुपैयाँभन्दा बढी सकियो।
उनले त्यो सबै ऋण लिएर आमाको उपचार गरेकी थिइन्। ‘आमालाई बँचाउन पाएको भए ऋण लागे पनि केही हुने थिएन, अन्तिम समयमा पनि मलाई ‘कालु कालु’ भनेर बोलाई राख्नु भएको थियो,’ उनले भनिन्।
आमाको सास आफ्नै काखमा गएपछि उनले ठानिन्- अहिलेसम्म त जिम्मेवारी निर्वाह गरेँ, अब हाम्रो रीतिरिवाज अनुसार सबै काजकिरियाको काम गर्छु! पशुपतिमा आमाको अन्तिम संस्कार गरेपछि नजिकैको किरियापुत्री भवनमा उनी अहिले किरिया बसेकी छन्।
‘मैले मेरी आमाको आँटले नै यतिसम्म हिम्मत जुटाएकी हुँ किनभने आमा निकै आँटिली हुनुहन्थ्यो,’ सपनाले आमालाई सम्झिन्।
सपनाका बुबा ६८ वर्षीय खड्कु बोहरालाई पनि श्रीमती गुमाएको पीडा छ तर छोरीले किरियाकर्म गरेकामा उनी खुसी छन्। ‘मैले समाजमा क्रान्ति गर्न भन्दा पनि आफ्नो आमाको लागि यसरी किरिया बसेकी हुँ,’ उनले भनिन्।
सपनाको आँट र कर्मलाई सघाइरहेका ब्राम्हण सरोजप्रकाश दाहाल पनि आमाको अन्तिम संस्कारपछि सपना किरिया बसेकालाई स्वाभाविक रूपमा लिन्छन्। ‘छोरी यसरी किरिया बस्नहुन्न भन्ने कुरा कुनै शास्त्रमा लेखिएको छैन,’ उनले भने। ३२ वर्षीय ब्राम्हण दाहालले हरिद्वारबाट आचार्य गरेका छन्।
विवाह गरेको छोरीले भने आमाबुवाको किरियाकर्म गर्न नमिल्ने उनले बताए।
‘उहाँ जसरी बस्नु भएको छ, शास्त्रसम्मत छ, यसलाई कसैले रोकेको छैन। यस्तो कार्यमा छोरा, छोरा नभए बाबु, आमा नभएका भाइगोत्यार, त्यो पनि नभए समाजमा ब्राम्हण राख्ने भने छ, तर यसरी छोरी बस्दा पनि हुन्छ,’ ब्राम्हण दाहालले भने।
‘मैले त यसरी छोरी मान्छेले किरियाकर्म गर्नुलाई सकारात्मक रूपमा लिन्छु, मैले अहिलेसम्म १०/१५ वटा छोरी बसेका किरियाकर्म उतारिसकेको छु,’ उनले थपे।

ब्राम्हण सरोजप्रकाश दाहालसँग सपना बोहरा।