
काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि एमाले पार्टी कार्यालय च्यासल पुगेका छन्।
आज एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुँदै छ।
पूर्वराष्ट्रपति भण्डारी भने यसअघि नै च्यासल पुगिसकेकी छन्।
भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिसकेकी छन्। तर, ओलीले उनलाई पार्टीको राजनीतिमा फर्कनबाट रोक्न खोजेका छन्।
शनिबार सम्पन्न एमाले पोलिटब्यूरो बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय नै पेन्डिङमा रहेको भन्दै उनलाई तत्काल पार्टीको नेतृत्वमा ल्याउन नसकिने निष्कर्ष निकालेको थियो।
पूर्वराष्ट्रपति भण्डारीले गत असार १४ गते मदन भण्डारीको ७४ औँ जयन्तीमा आयोजित कार्यक्रममा एमालेमा फर्कने घोषणा गरेकी थिइन्।