नाटक रिभ्यु: चन्द्रलाई कसले मार्‍यो?

व्यवस्था र समाजको बन्धनद्वारा मारिएका ‘चन्द्र’

व्यवस्था र समाजको बन्धनद्वारा मारिएका ‘चन्द्र’
+
-

पछिल्लो समय नाटक कमै हेर्छु। फुर्सद र चासो दुवै कम भएर होला, उत्ति जोश पनि चल्दैन।  फाटफुट चलचित्र भने हेरिरहेकै हुन्छु। गत शनिबार समय र रुचि दुवै भयो। अनि पुगियो मण्डला थिएटर। नाटक थियो, ‘चन्द्रेलाई कसले मार्‍यो?’ सामाजिक सञ्जालमा औसत सक्रिय म। शीर्षक सुने पनि कथाबस्तुका विषयमा अनभिज्ञ रहेछु। ‘सरप्राइज’ जस्तै नै भयो। केही साथीसँग थिएटर छिरियो। हामी छिर्दा खालि भए पनि बिस्तारै भरिँदै गए सिट। अनि सुरु भयो नाटक…।

‘यो दुनियाँ सब भ्रम हो, चन्द्र तिमी हिँड हामीसँग’, दुई वटा गाई (पात्र) आएर यही भनिरहे। नाटक यसमै घुमिरह्यो। सुरूको १५-२० मिनेट खल्लो लाग्यो। ह्या! उठेर हिँडिदिम् जस्तो पनि भयो। भीडले होला, गर्मी उस्तै। बाहिर निस्किन मन भएपनि निस्किहाल्न भने सकिनँ। अल्छी मान्दै गुम्सिएँ त्यही उकुसमुकुसमा। म मात्र होइन, साथी सम्झनाको हालत पनि उस्तै थियो। मेरै ‘फर्माइस’मा पुगेकी उनले पनि दिक्क मान्दा झनै खिन्न थिएँ म। बायाँतर्फ रहेका एक जना पुरुष साथी (अपरिचित) भने खुब खित्किएका थिए। हल नै थर्किने स्वरमा। सिटमा ओल्टे-कोल्टे फर्किँदै त्यो समय गुजारियो। कलाकारहरू भने कथासँगै बगिरहेका थिए, स्टेजमा।

सामाजिक यथार्थ चित्रण

स्टेजमा बगिरहेको कलाकारको अभिनय बिस्तारै समाज र सामाजिक विषयसँगै बग्न थाल्यो। अनि बग्दै गएँ म पनि कथासँगै। कथा भन्दा पनि नेपाली समाज र यहाँका पात्रहरूको मानसिकतासँगै। जहाँ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र तिनीहरूले भोगेको सामाजिक बहिष्कार र तिरस्कारहरू छरपस्ट थिए। कथाका मुख्य पात्र चन्द्र त्यही समुदायका हुन् जसले खुलेर समाजमा आफूलाई परिभाषित गर्न सकेनन्/पाएनन्। जो मौनताबाटै पनि चाल पाएकी आफ्नै आमाबाट तिरस्कृत हुन पुगे। ‘मैले आफूले आफैलाई कसरी चेन्ज गर्नु ममी’, छोराको वास्तविकता थाहा पाएर झर्किएकी आमालाई फोनमा रुँदै सम्झाउँदै चन्द्र भन्छन्। आमाले भने रिसले झनै चुर भएर जवाफ फर्काउँछिन्, ‘मेरो लागि तँ मरिसकिस्। फोन नगर्।’

‘छक्का’ शब्दले पटक-पटक आफ्नै साथीहरूबाट अपहेलित बनेका चन्द्र कलेजबाट पनि निलम्बनमा पर्छन्। परिवार, सहकर्मी, साथीहरू र समाजको तिरस्कार र अपहेलना अनि कानुनी बन्देजबाट आजित उनी मानसिक रुपमा निकै विक्षित्त हुन्छन्। जीवनदेखिनै बिरक्तिन्छन्। अनि टाढिन तम्सिन्छन् दुनियाँबाटै…!

सामाजिक यथार्थतालाई केन्द्र बनाइएको यो कथा युग र चन्द्रको मात्र भने होइन। यो ती मान्छेको भोगाइ र आर्तनादको कथा हो जो परिवार, समाज, राज्य र कानुनको बन्देज र मौनताका कारण युगले जसरी आफूलाई खुलाउन सकेनन्। यदि खुलाए पनि हालत चन्द्रको जस्तै भयो- अपहेलित, तिरस्कृत अनि बहिस्कृत।

सन्दिप श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशनमा असार २५ गतेदेखि साउन १८ सम्म चल्ने यो नाटकले समाजिक यथार्थलाई टपक्क टिपेको पाइन्छ। यो कथा चन्द्रको मात्र भने होइन। यो ती मान्छेको भोगाइ र आर्तनादको कथा हो जो परिवार, समाज, राज्य, कानुनको बन्देज र मौनताका कारण आफूलाई खुलाउन सकेनन्। यदि खुलाए पनि हालत चन्द्रको जस्तै भयो- अपहेलित, तिरस्कृत अनि बहिस्कृत।

खुलाउन नसकेको सम्बन्ध र प्रेम

नाटकमा अर्का पात्र छन्, युग जो चन्द्रसँग आकर्षित हुन्छन्। चन्द्र पनि विस्तारै प्रेममा पर्छन्। तर, युगले भने त्यो कुरा खुलाउन सक्दैनन्/चाहदैनन्। गोप्य रुपमा भेट्ने युगले अन्य साथीहरूसँग हुँदा भने चन्द्रलाई नचिनेको/नभेटेको बहाना गर्छन्। किनकि उनी डराउँछन् साथीहरू, समाज अनि सामाजिक विभेद र तिरस्कारसँग। उनी डराउँछन् आफ्नै परिवारसँग पनि। ‘म समाजको अगि हिजडा भएर बाँच्न सक्दिनँ। आमा बाबाले थाहा पाउनुभए के हुन्छ? म कमजोर र डरपोक मान्छे मायाको हकदार होइन,’ पत्रमार्फत प्रायश्चित्त भावमा युगले चन्द्रलाई भन्छन्।

मौनता र मानसिक विक्षिप्तता

नाटकमा चन्द्रले धेरै पटक सपना देख्छन्। कल्पना गर्छन्। जहाँ मुख्यगरी अवचेतन र अतीतसँगको द्वन्द्व, जीवनशैली र भोगाइका कुरा हुन्छन्। सपनामा आएका तिनै कुराले विपनामा छटपटाउँछन् पनि उनी। पीडा, भय, द्वन्द्व, आवेग, ट्रमाजस्ता विभिन्न मानसिक अवस्था र त्यसको परिणाम उनको अभिनयमा पनि झल्किन्छ। प्रेममा अप्राप्ति, विवाहका लागि सामाजिक तथा कानुनी बन्देज, आमालगायत आफन्तबाटको तिरस्कार जस्ता कुराले एक किसिमले मनोरोगको सिकार हुन पुग्छन् उनी। र त, हस्पिटलको बेडमा पनि युग शब्द सुन्दा झस्किन्छन् र गहिरो अतीतको चोटमा पिल्सिरन्छन् उनी। केही हडबडाउँछन्, डराउँछन्, कराउँछन्। यस्तै यस्तै…।

यो कथा आजको समाजमा कति सापेक्षी?

‘म त भन्दिनँ मिस परिवारमा। भाइले यसैपनि मलाई नराम्रो मान्छ। बा-आमा पनि त्यस्तै हुन्,’  करिब एक वर्ष पहिले एक जना साथीले भनेको वाक्य हो यो। आफूलाई खुलाएर परिवारबाटै तिरस्कृत हुने भय थियो ती साथीमा। र त मलाई भनिरहन्थे, ‘मलाई त केटा मन पर्छ नि मिस, अरूलाई नभन्नू है।’ सामाजिक विषय र पत्रकारितामा सक्रिय ती साथीको उदाहरण वर्तमान समय र त्यसको नतिजालाई पुष्टि गर्ने एक उदाहरण हो।

चन्द्र र ती साथी मात्र होइन। यस्ता धेरै पात्र छन्। जो अझैपनि खुल्न पाएका छैनन्। खुलेकाहरू हर्षले बाँच्न पाएका छैनन्। किनकि चन्द्रलाई जस्तो लगाइरहन्छ हथकडी यो समाजले,  न्याकिरहन्छ घाटी अनि चढाउँछ फासीमा अनेकौँ बहानामा। यो नाटक ती चन्द्रहरूको कथा हो, जो आज पनि परिवार, आफन्त समाज र राज्यसँग डराएर मनैमनमा गुम्साएर राखेका छन् आफ्नो भावना। अनि जकडिएका छन्, यही समाजको संस्कार, परस्परा र इज्जतको पर्खालभित्र।

मलाई लाग्छ- यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई मानिसको दर्जा दिन हिच्किच्याउने, उनीहरूले गरेको प्रेम, विवाह र व्यवहारलाई अप्राकृतिक मान्ने यो समाज र व्यवस्थालाई पटक-पटक घचघच्याएर गम्न प्रेरित गर्ने कथा हो, ‘चन्द्रलाई कसले मार्‍यो?’ जसले आजको नेपाली समाज र त्यसमा रहेका शिक्षित र बौद्धिक वर्ग मानिएकाहरूको वास्तविक व्यवहारलाई प्रश्न चिह्न खडा गर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?