
हुम्ला – रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित ठूलीभेरी नदीमा टिप्पर खस्दा तीन जना बेपत्ता भएका छन्। भेरी करिडोरअन्तर्गतको सडकखण्डबाट भेरी नदीमा टिप्पर खसेको हो।
प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार, आठबिसकोट नगरपालिका–११ चिसापानीबाट वडा नम्बर १४ को छेपारेतर्फ आउँदै गरेको यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर ठूलीभेरी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेहरूमा टिप्पर चालक दाङ जिल्ला निवासी ३५ वर्षीय मनिराम चौधरी, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी यति बिल्डर्सका जेसिबी चालक धनबिर बराईली र यति बिल्डर्सको जेसिबीका एक जना हेल्पर रहेका छन्, जसको पहिचान खुलेको छैन।
उक्त टिप्पर सडकदेखि करिब दुई सय मिटर तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ। बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।