
मोरङ – पर्याप्त वर्षा नभएका कारण कोशी प्रदेशको धान रोपाइँमा कमी आएको छ। विराटनगरस्थित कृषि विकास निर्देशनालयका अनुसार हालसम्म प्रदेशभर ६१ दशमलव ७९ प्रतिशत रोपाइँ भएको छ।
निर्देशनालयकी सूचना अधिकारी पूर्णमाया गुरुङका अनुसार प्रदेशका १४ जिल्लामा हालसम्म १ लाख ७० हजार ७ सय ९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। गत वर्ष यसै अवधिमा ८२ दशमलव ६८ प्रतिशत रोपाइँ सकिएको थियो।
उनले भनिन्, ‘मोरङमा ६९ हजार ८ सय १७ हेक्टर क्षेत्रफलमा धान रोपिने गरेको छ। तर, यस वर्ष पानी कम परेर ५० प्रतिशत अर्थात् ३४ हजार ९ सय ८ दशमलव ५ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ।’
तीन वटा जिल्ला रहेको प्रदेशको उच्च पहाडी भेगमा हालसम्म ५० दशमलव ४२ प्रतिशत रोपाइँ भएको छ। उनका अनुसार हालसम्म सोलुखुम्बुमा ८४ दशमलव ३१ प्रतिशत रोपाइँ भएको छ।
एक हजार २ सय २५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सोलुखुम्बुमा १ हजार ३२ दशमलव ८० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको सूचना अधिकारी गुरुङले बताइन्।
सोही भेगको ताप्लेजुङ र संखु्वासभामा भने पानी कम परेर रोपाइँ पनि कम भएको छ। निर्देशनालयका अनुसार आठ वटा जिल्ला रहेको प्रदेशको मध्यपहाडी भेगमा हालसम्म ६४ दशमलव ५५ प्रतिशत मात्र रोपाइँ भएको छ।
यस भेगको इलाम, भोजपुर, तेह्रथुम, उदयपुर, ओखलढुंगा र प्रदेशको तराईतर्फ झापा, सुनसरी, मोरङमा पानी कम परेर पूर्णरूपमा रोपाइँ हुन नसकेको निर्देशनालयले जनाएको छ।
समयमा वर्षा भएपछि खोटाङमा ८१ दशमलव ३० प्रतिशत र पाँचथरमा ७५ प्रतिशत रोपाइँ सकिएको छ। मुख्यगरी, धान उत्पादनको उर्वरभूमि र प्रदेशको तराई क्षेत्र झापा, मोरङ र सुनसरीमा ६१ दशमलव ७३ प्रतिशत रोपाइँ भएको छ। निर्देशनालयका अनुसार झापामा ६८ दशमलव ६०, सुनसरीमा ६८ प्रतिशत र मोरङमा ५० प्रतिशत धान रोपाइँ भएको छ।
मोरङको सुनवर्षी नगरपालिका–४ बटरवारीका ६२ वर्षीय किशनदेव यादवका अनुसार खेतसम्म सिँचाइ नपुगेपछि रोपाइँ प्रभावित भएको छ।
एक बिघा जमिनमा रोपाइँ गर्दै आएका यादवले हालसम्म ८ कठ्ठामा मात्र रोपाइँ गर्न पाएको बताए।
‘सरकारले समयमा मल, बिउ दिन सक्दैन। हामीले त्यसका लागि लडाइँ लड्नुपर्छ। अनि रोप्ने बेला आकाशे पानीको भर पर्नुपर्छ’, उनले भने, ‘सरकारले किसानलाई साथ दिँदैन। पानी नभएर हाम्रो पालिकामा पनि धेरै कृषकको खेतमा रोपाइँ हुन सकिरहेको छैन।’
डिप बोरिङ र आधुनिक सिँचाइको अभावमा खेत बाँझै रहेको उनले बताए। सक्नेले पम्पसेट लगाएर स–साना खेतमा रोपाइँ गरे पनि अधिकांश किसान भने आकाशे पानीको भरमा रहेको उनले बताए।
निर्देशनालयका अनुसार प्रदेशभर कुल ८ लाख २६ हजार ६ सय ४६ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ। जसमध्ये हालसम्म एक लाख ७० हजार ७ सय ९० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ।