
पोखरा – तनहुँको भीमाद नगरपालिका–५ ऋषिङपाटनकी विमला गैरेको खेत र मन दुईतिरै धाँजा फाटेको छ। पर्याप्त पानी नपर्दा खेतमा सिँचाइ नभएर धाँजा फाट्यो। बडो मेहनतले रोपेको धान चर्को घामले सुकेरै जान्छ कि भन्ने सुर्ताले मन।
असार १० गते बुडुवा फाँटको साढे तीन रोपनी खेतमा उनले रोपाइँ गरेकी थिइन्। त्यसयता पर्याप्त वर्षा नभएको उनको भनाइ छ। ‘बुडुवा खोलामा पानी बढेको छैन। तल्लो भागसम्म कुलोबाट लगाएको पानी नै आइपुग्दैन्’, उनी भन्छिन्, ‘सारै समस्या भो। कसरी जोगाउने भन्ने चिन्ताले सताइरहेको छ।’
उनका अनुसार बुडुवा फाँटमा पानीको समस्याले रोपेको धान जोगाउन मुस्किल भएको सम्भवतः पहिलो पटक हो। ‘यस्तो धाँजा फाटेको अहिलेसम्म थाहा थिएन। यसपालि के भो कुन्नी यस्तोविघ्न भयो’, उनले सुनाइन्। सिँचाइको व्यवस्था भए वर्षभरिलाई पुग्ने धान जोगाउन सकिने उनलाई लागिरहेको छ।
विमलाको जस्तै समस्या छ ऋषिङपाटनकै देवीराज अधिकारीलाई पनि। उनी भन्छन्, ‘रोप्न त जेनतेन गरेर खेत रोपियो। पूरै धाँजा फाटेको छ। हप्ता दिन पानी परेन भने त सबै मर्ने अवस्थामा छ।’
फाँटभन्दा तलपट्टि उर्लेर सेती नदी बगेको हेर्छन्। सिँचाइको अभावले फाँटैभरी खेत सुकेर धान मर्ने अवस्थामा पुगेको देख्दा उनको मन अमिलो हुन्छ। उनका अनुसार बुडुवाफाँटमा झन्डै एक हजार ६०० रोपनी क्षेत्रफलमा धान खेती लगाइन्छ। सबैतिर पर्याप्त पानी नभएको अधिकारीले सुनाए।
माथिल्लो क्षेत्रमा आलोपालो गरेर सिंँचाइ गरे पनि तल्लो क्षेत्रमा पानी नपुगेको उनको भनाइ छ। ‘आकाश हेरेर बस्नेबाहेक अरु केही उपाय छैन। हामी किसानहरु सारो मर्कामा छौँ’, मौसमविद्प्रति आक्रोश पोख्दै उनी भन्छन्, ‘यसपालि त झन् धेरै पानी पर्छ भनेर आत्तिएर छिटो बिउ राखियो। बिउ बूढो भएर हतारमा रोप्नुपर्यो। अहिले पानी नआएर रोपो कसरी जोगाउने भन्ने चिन्ता छ।’
तनहुँको फाँटहरुमा रोपेको धान जोगाउने चिन्ता छ। टारी खेतमा भने धान कसरी रोप्ने किसान अन्यौलमा परेका छन्।
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले आकाशे भल छोपेर रोपाइँ गर्ने पहाडी इलाकामा निकै समस्या भएको बताउँछन्।
‘माथिल्लो भेगमा रोपाइँ गर्नै समस्या छ। फाँटहरुमा पनि सिँचाइको समस्या देखिन थालेको छ’, उनी भन्छन्, ‘पर्याप्त नहुँदा आलोपालो सिँचाइ गर्नुपर्ने अवस्था छ।’
अहिलेसम्मको अवस्थामा त्यति असर नगरे पनि लामो समय पानी नपरे धान उत्पादनमा ह्रास आउने लामिछानेको विश्लेषण छ।
तनहुँमा ६५ हजार ६१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ। त्यसमध्ये यो वर्ष ७ हजार १२२ हेक्टर क्षेत्रफलमा धान रोप्ने अनुमान गरिएकोमा ८१.६७ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको तथ्याङ्क छ।
तनहुँमा जस्तै नवलपुरमा पनि रोपेको धान जोगाउन मुस्किल छ। खोलानालामा पानी बहाव नबढ्दा सिँचाइको अभावले खेतमा धाँजा फाट्न थालेको हो। फाँटहरुमा डिप बोरिङको सिँचाइले जेनतेन जोगाएको छ। बोरिङको सिँचाइको पहुँच नभएका खेत सुख्खा देखिन्छ।
पहाडी क्षेत्रका किसान वर्षाको प्रतिक्षामा रहेको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि प्रसार अधिकृत विश्वास काफ्ले बताउँछन्। ‘पानी परिरहेको छैन, पूरै सुख्खा छ। जहाँजहाँ डिप बोरिङ छ त्यहाँ अलिकति सुविधा भयो सिँचाइको’, काफ्ले भन्छन्, ‘राजमार्गभन्दा माथि टार क्षेत्रमा पूरै सुख्खा छ। अहिले किसानहरु चिन्तित हुनुहुन्छ पानी नपरेर।’
नवलपुरको पहाडी क्षेत्रमा पर्ने बौद्धिकाली र बुलिङटार गाउँपालिकामा रोपाइँ सुरु हुनै नसकेको उनले जानकारी दिए ।
पर्याप्त वर्षाको अभावले गण्डकीमा रोपाइँ विगतको वर्षाको तुलनामा केही मात्रामा भए पनि प्रभावित देखिन्छ। यो वर्ष साउन पहिलो साता सकिँदासम्म ७९.२८ प्रतिशत रोपाइँ भएको छ।
कृषि विकास निर्देशनालय गण्डकीका सूचना अधिकारी कृषि अर्थविज्ञ मनोज पौडेलका अनुसार ७४ हजार ६६४.९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। ९४ हजार १८२ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान रहेको पौडेलले उल्लेख गरे। गण्डकीको हिमाली जिल्ला मुस्ताङ र मनाङ बाहेक ९ जिल्लामा धान खेती हुन्छ।
रोपाइँ जसोतसो भए पनि धाँजा फाट्ने समस्या जताततै देखिन थालेको पौडेल बताउँछन्। ‘तथ्याङ्क हेर्दा त खासै फरक होइन। रोपाइँपश्चात पानी नहुनाले धान मर्दै गएको गुनासो आउन थालेको छ’, उनले भने।
गण्डकीमा गत वर्ष साउन पहिलो हप्तासम्म ८४.२६ प्रतिशत रोपाइँ सकिएको थियो। गत वर्ष कुल ९६ हजार ५३ हेक्टरमा धान रोपिएको हो। आर्थिक वर्ष २०८०/८१ मा साउन पहिलो हप्तासम्ममा ८२.१३ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ। त्यो वर्ष ९७ हजार ७६९ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो।
यो वर्ष हालसम्म सबैभन्दा धेरै लमजुङमा ८ हजार ४४०.४३ हेक्टर क्षेत्रफलमा अर्थात ९०.७७ प्रतिशत रोपाइँ सकिएको कृषि विकास निर्देशनालय गण्डकीसँग तथ्याङ्क छ। कास्कीमा ८६.६२ प्रतिशत (१४ हजार ५० हेक्टर), बागलुङमा ८५ प्रतिशत (४ हजार ८५०.९५ हेक्टर), तनहुँमा ८१.६७ प्रतिशत (७ हजार १२२ हेक्टर), म्याग्दीमा ८०.१ प्रतिशत (३ हजार ३५ हेक्टर) रोपाइँ सकिएको छ।
नवलपुरमा ७८.६० प्रतिशत (१४ हजार ७१३ हेक्टर), स्याङ्जामा ७५ प्रतिशत (१० हजार ७९२.५ हेक्टर), पर्वतमा ७० प्रतिशत (५ हजार २६ हेक्टर) क्षेत्रफलमा रोपाइँ भएको हो।
सबैभन्दा कम गोरखामा ६५.३४ प्रतिशत खेतमा रोपाइँ भएको छ। यहाँको १० हजार १४० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा साउनको पहिलो हप्ता सकिँदासम्म ६ हजार ६२५ हेक्टरमा मात्रै रोपाइँ भएको हो।
पर्याप्त पानी नपरेकै कारण गोरखामा रोपाइँ बढ्न नसकेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ सुमन भट्टराईले बताए। यो हप्ता पानी परेकाले रोपाइँ भइरहेको उनको भनाइ छ। ‘अघिल्लो हप्ता पानी नपर्दा अपेक्षित रुपमा रोपाइँ बढ्न सकेन’, उनले भने। सिँचाइको समस्या पालुङटारकै फाँटमा पनि देखिएको उनले सुनाए।
गण्डकीमा यो वर्ष पर्याप्त वर्षा भएको छैन। नेपालको चेरापुञ्जी भनेर चिनिने कास्कीको लुम्लेस्थित जलमापन केन्द्रमा पछिल्लो हप्ताको रेकर्डले पनि उतिसारो वर्षा देखाउँदैन।
गत शुक्रबार २.६, शनिबार ०.२, आइतबार अत्यधिक २१५.६, सोमबार ३८.२, बुधबार २६.२ मिलिलिटर वर्षा मापन गरिएको छ। मंगलबार र बिहीबार भने वर्षा नै भएन।