
नेपालगन्ज – बाँकेको राप्तीसोनारी गाउँपालिका–७, खल्ला झगडियावासी पानी पर्नेबित्तिकै राप्ती नदीले आधा बगाइसकेको तटबन्ध भत्कियो कि भनेर हेर्न पुगिहाल्छन्। तीन वर्षअघि आधा भत्किएको तटबन्ध ठूलो बाढी आउनेबित्तिकै पुरै भत्केर आधा दर्जन गाउँ डुब्ने खतरा थियो।
त्यही नजिकका गाउँले त आकाशमा बादल देख्दा झस्किन्थे नै, अलि टाढा घर भए पनि वडाध्यक्ष रामलखन थारु राति पानी पर्दा भत्किन थालेको तटबन्धमा पुग्थे। २०७१ सालको बाढीपछि राप्ती नदीले धार परिवर्तन गरेपछि खल्लाझगडियालगायत आधा दर्जन गाउँ डुवानको जोखिममा परेको हो।
२०७९ को बाढी तटबन्ध नै आधाभन्दा बढी भत्काइदिएपछि खल्ला झगडियावासीको पानीदेखिको त्रास अझ बढ्यो। यो बीचमा भत्केको तटबन्ध मर्मतसम्म गर्न स्थानीयले धेरै जोडबल गरे। सुनुवाइ भएन। एकैपटक पक्की तटबन्ध बन्छ भनियो। हुनचाहिँ केही भएन। स्थानीयवासी कराइरहे। धन्न ठूलो बाढी नआएकाले क्षति हुन पाएन।
यो वर्ष भने जनताको तटबन्ध कार्यालयले जेठ अन्तिमदेखि सुरु गरेर धमाधम आपतकालीन तटबन्ध निर्माण गरेपछि स्थानीयवासी बाढीको त्रासबाट मुक्त भएका छन्।
साई माँ दुर्गा भेन्सी जेभीले ६ करोड ५० लाखमा पक्की तटबन्ध निर्माण गर्ने ठेक्का लिएर त्यहीअन्तर्गत यो बर्खामा डुवान हुन नदिन आपतकालीन तटबन्ध निर्माण गरेपछि स्थानीयवासी ढुक्क भएका हुन्।
जनताको तटबन्ध कार्यालय, लमही दाङका प्रमुख डा. नारायणप्रसाद सुवेदीले झल्ला झगडिया र जरैयामा आपतकालीन तटबन्ध बनाएर यो बर्खामा डुवान हुन नदिने र बर्खापछि स्थायी तटबन्ध बनाउने बताए।
आपतकालीन तटबन्धमा बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा, जाली र सिमेन्टको पोल प्रयोग गरिएको छ। ठूलो संख्यामा मजदुर लगाएर अस्थायी तटबन्धको काम भइरहेको छ।
स्थानीयवासी दुर्गा पाण्डेले आपतकालीन तटबन्ध बनेकाले बर्खामा गाउँ डुवानमा नपर्ने विश्वास बढेको बताए। उनले अब पानी पर्नेबित्तिकै तटबन्ध भत्कियो कि भन्ने चिन्ता दूर भएको बताए।
खल्ला झगडियामा तटबन्ध भत्किनेबित्तिकै देउपुरा, पिप्रहवा, नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ को सोनवर्षा, कुदरवेटवा, गंगापुर, भोजभगवानपुर र वडा नम्बर ५ को नवाजीगाउँ, भोजपुर तथा डुडुवा गाउँपालिकाको वडा नम्बर १ को कुडवागाउँ डुवानमा पर्छन्।
बाँकेमा सबै भन्दा ठूलो बाढी २०७१ सालमा आएको थियो। त्यसपछि २०७४ सालमा बाढी आए पनि पछिल्ला वर्ष ठूलो बाढी आएको छैन। यो वर्ष त अहिलेसम्म ठूलो पानी नै पर्न सकेको छैन।