
हामी प्रायः सडकमा हिँड्छौं, सवारी चढ्छौं, यात्रा गर्छौं। कहिले काँडाले भरिएको बाटोले झर्को लाग्छ, कहिले चिल्ला सडकले गन्तव्य सजिलो बनाउँछ। तर ती सडकहरू कसरी बन्छन्? कसरी सञ्चालनमा आउँछन् अनि कसरी मर्मत सम्भार हुन्छ? यसबारे हामी कमै चासो राख्छौं। यदि राख्छौं भने पनि सडकको भौतिक संरचना र आफ्नो सहजताको मात्र।
सडकको पनि आफ्नै मर्म हुन्छ। यसको पनि भावना हुन्छ र यसले पनि हाम्रा सम्बन्धहरूले जस्तै हाम्रो जीवन सरल र सरस बनाउनका लागि सघाउँछ भन्ने भावनात्मक पाटो कमै स्मरण गर्छौँ। र नढाटी भन्दा म पनि अन्य मानिस जस्तै सडकको अर्थ र समाजशास्त्रीय पाटोप्रति अनभिज्ञ थिएँ। पढाइको हिसाबले सिभिल इन्जिनियरिङ पढेको, म। हरेक कुरालाई त्यहीँ दृष्टीकोणले हेरें, देखें र परिभाषित गरें पनि। तर, जब म आफै पनि सडक र त्यसको प्रत्यक्ष कामसँग जोडिएँ त्यसपछि मेरो आँखा खुल्यो। मेरो कार्य अनुभव र अबको बुझाइले मलाई लाग्छ; सडक केवल ढुंगा, सिमेन्ट वा अलकत्रा र बालुवाको मिश्रण होइन, यो त मानव जीवनको धमनी हो।
जस्तो कि अहिले म कार्यरत पूर्वी तराईको हृदयस्थल लहानमा अवस्थित सडक डिभिजनले यही धमनीलाई सञ्चालित गर्दै यहाँको मात्र नभएर समग्र मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा ऐतिहासिक भूमिका खेल्दै आएको छ। यहाँका सडकहरूले मात्र भौगोलिक दूरी घटाउँदैनन्, मानिसबीचको भावनात्मक दूरी पनि कम पार्छन्। यसले किसानको उत्पादन बजारसम्म पुर्याउँछ, विद्यार्थीलाई शिक्षा, बिरामीलाई स्वास्थ्य सेवा र व्यापारीलाई अर्थोपार्जन गर्ने अवसरसँग जोड्छ।
सडक डिभिजन लहानले सिराहा, सप्तरी र उदयपुर जिल्लाका हजारौं किलोमिटर सडक र पुलहरू सम्हालिरहेको छ- जहाँ सडक केवल ‘रुबरु’ विकास मात्र होइन, जनताको जीवनयापनसँग सीधा जोडिएको परिवेश छ। र त सडक बनाउनु भनेको गाउँलाई बजारसँग जोड्नु मात्र होइन, एक बालिकालाई विद्यालय पुग्न सहज बनाउनु हो, एक बिरामीलाई अस्पतालसम्मको समय घटाउनु हो, किसानको बालीलाई बजारसम्म ल्याउनु हो। त्यसैले, सडक निर्माण हाम्रो लागि ठेक्का प्रक्रिया होइन- यो त जनताको जीवनको स्तर सुधार गर्ने परोपकारी कार्य हो। यो सोचबाटै हामीले योजना बनाउँछौं, साइटमा पुग्छौं, काम गर्छौं। गरिरहेका छौं पनि।
यसैपनि नेपाल विविधताले भरिपूर्ण मुलुक हो। अन्य विविधता जस्तै भौगोलिक विविधता पनि यहाँको एउटा महत्त्वपूर्ण विशेषता हो। तराईमा बाढीले सडक बगाउँछ, पहाडमा पहिरो र हिमालमा हिमपहिरोले। कतै कमजोर माटोले दिगोपन गुम्छ, कतै सीमावर्ती क्षेत्रको सुरक्षा चुनौती हुन्छ। अनि विकाससँगै आएको शहरीकरणले ट्राफिक र पूर्वाधारको माग बढाउँछ। यी सबै समस्यामा एउटै उपायउपयोगी नहुन सक्छ। त्यसैले योजना बनाउँदा हामी स्थानीय भूगोल, वातावरण, सामाजिक संरचना र दीर्घकालीन लाभ हेरेर फरक-फरक समाधान खोज्छौं र खोज्नु पर्छ पनि।
हामीले सडक सुरक्षा, वैकल्पिक राजमार्ग, पुल निर्माण, निर्वाचन क्षेत्रीय रणनैतिक सडक, पहिरो-बाढी नियन्त्रण जस्ता क्षेत्रमा गुणात्मक प्रगति गर्न तत्पर छौँ। यी सबै योजनाहरू १६औँ पञ्चवर्षीय योजना र दिगो विकास लक्ष्य लक्ष्यहरूसँग प्रत्यक्ष जोडिएका छन्- सुशासन, सामाजिक न्याय, समावेशी गुणस्तरीय पूर्वाधार विकास र अन्तर-आबद्धता।
बाढीको जोखिम रहेका क्षेत्रमा सुदृढ रिटेनिङ वाल, पहाडमा ड्रेनेज व्यवस्थापन, कमजोर माटोमा जियोटेक्निकल समाधान, अनि सामुदायिक सहभागिता सुनिश्चित गरेर संरचनाहरू दीगो बनाउन लागिपर्नु हाम्रो महत्त्वपूर्ण कर्म र धर्म हो। आवधिक योजना, वार्षिक बजेट र मध्यमकालीन खर्च संरचना (MTEF) हाम्रो मार्गदर्शन हो। सरकारको प्राथमिकता पनि स्पष्ट छ- पहिले सुरु भइसकेका योजनाहरूलाई पूर्णता दिने। यसै कारण हामीले पनि नयाँ योजना भन्दापनि अधुरो परियोजनालाई सवल रुपमा सम्पन्न गर्नेमा बढी जोड दिएका छौं। नयाँ आवश्यकता, योजना र कामका कुरा त छन् नै।
हामीले सडक सुरक्षा, वैकल्पिक राजमार्ग, पुल निर्माण, निर्वाचन क्षेत्रीय रणनैतिक सडक, पहिरो-बाढी नियन्त्रण जस्ता क्षेत्रमा गुणात्मक प्रगति गर्न तत्पर छौँ। यी सबै योजनाहरू १६औँ पञ्चवर्षीय योजना र दिगो विकास लक्ष्य लक्ष्यहरूसँग प्रत्यक्ष जोडिएका छन्- सुशासन, सामाजिक न्याय, समावेशी गुणस्तरीय पूर्वाधार विकास र अन्तर-आबद्धता।
एउटा निर्वाचित जनप्रतिनिधिले आफ्नो क्षेत्रमा सडक बनाउने सपना किन देख्छ? त्यो जनप्रतिनिधिको नजरीयाको कुरा भयो। तर, हामीले त्यो योजनालाई जनप्रतिनिधिको निर्वाचन क्षेत्र या भनूँ त्यहाँका जनताको जीवनलाई सहज बनाउन सडकको माध्ययमबाट भरपूर प्रयास गर्नु हाम्रो जिम्मेवारी ठान्छौं र सोही अनुरुप काम गरिरहेका छौं। जसले स्थानीयको दैनिकीमा सहजता ल्याउने मात्र होइन। जनता र जनप्रतिनिधिप्रतिबीचको समन्वयकारी सम्बन्धमा पनि दीर्घकालीन प्रभाव पार्छ।
अहिलेको युग प्रविधिको युग हो। डिजिटल युगमा कार्यालय चलाउने शैली र कार्यशैली पनि बदलिँदो छ। हामीले अब ई-टेन्डर प्रणालीमार्फत निष्पक्षता ल्याएका छौं। मोबाइल मोनिटरिङ, गुगल अर्थ, जिआईस (GIS) आधारित रिपोर्टिङ जस्ता उपायले कामको गति र गुणस्तरमा सुधार आएको छ। निरीक्षण टोली साइटबाट नै तत्काल रिपोर्ट दिन सक्छ। हामीले अनलाइन गुनासो प्रणाली, वेबसाइट अपडेट, सार्वजनिक सुनुवाइमार्फत जनताको विश्वास र सहभागिता बढाएका छौं।
अन्य कामहरू जस्तै यो काम पनि असहजताबाट पर छैन। वास्तविकता के हो भने- सडक बनाउने क्रममा हामी सधैं सहज परिस्थितिमा हुँदैनौं। मौसम प्रतिकूल हुन्छ, बजेटको कमी रहन्छ, निर्माण सामग्री अभाव हुन्छ, मानव संसाधन अपर्याप्त हुन्छ। साथै ठेक्कापट्टा व्यवस्थापन, जनअपेक्षा र कार्यप्रगति सन्तुलन मिलाउनु ठूलो चुनौती हो। सडक सीमा अतिक्रमण, कानुनी जटिलता र निजी क्षेत्रको क्षमतामा पनि सुधार आवश्यक छ। तर हामी यी चुनौतीलाई गुनासो होइन, सुधारको अवसरका रूपमा हेर्छौं। स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाजसँग सहकार्य गरेर धेरै समस्या हल भएका छन्। सडक सीमा विवादमा संवाद, बजेट समस्यामा समयमै रकमान्तर तथा अनुगमन प्रणाली सुदृढीकरण जस्ता उपायहरू सफल भएका छन्।
सडक निर्माणको सबैभन्दा ठूलो बल भनेको स्थानीय समुदायको साथ हो। जब योजना बनाउँदा जनप्रतिनिधि र स्थानीयवासी सामेल हुन्छन्, निर्माण मात्र होइन, मर्मत-सम्भारको जिम्मेवारी पनि सामूहिक बन्छ। हामी स्थानीय जनशक्तिको प्रयोग र सीप विकासमा पनि जोड दिइरहेका छौं। यसले रोजगार सिर्जना मात्र होइन, गौरव र अपनत्वको भावना पनि जन्माउँछ। र त सबैले सहर्षका साथ भन्ने अवस्था आउँछ- हाम्रो सडक।
मलाई लाग्छ, सडक निर्माण केवल भौतिक संरचना निर्माण मात्र होइन, यो समग्र मुलुक निर्माणको आधारशिला हो। सडकलाई केवल इँटा, ढलान र कालोपत्रको दृष्टिकोणबाट मात्र होइन, सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको संवाहकका रूपमा पनि बुझ्नुपर्छ।
डिभिजन प्रमुखको दृष्टिकोणबाट हेर्दा म भन्न सक्छु- सडक बनाउनु भनेको केबल संरचना ठड्याउनु मात्र होइन, देश बनाउनु हो। आज हामी सीमित स्रोत-साधनमा काम गर्दैछौं, तर पारदर्शिता, जवाफदेहिता र सेवामूलक भावना छ हामीसँग। हामी सडक डिभिजन लहानबाट यही सन्देश दिन चाहन्छौं कि- पूर्वाधार विकास भनेको केवल ढलान र कालोपत्र होइन, समृद्धिको बाटो पहिल्याउने निकै दीर्घकालीन र महत्त्वपूर्ण कार्य हो।
र, म गर्वका साथ भन्न सक्छु – हामी त्यो बाटोमा छौं। हिजोको भन्दा आज राम्रो गर्दै, आजभन्दा भोलि अझ उत्तरदायी हुँदै। सडक विकास होइन, विश्वासको यात्रा हो। जन-जीवन, भावना र अर्थोपार्जनको निकै महत्त्वपूर्ण आधर हो। समग्रमा: सडक सामाजिक गतिशीलताको मेरुदण्ड हो।
(लेखक कर्ण पेशाले इन्जिनियर हुन्। हाल उनी सडक डिभिजन लहानमा डिभिजन प्रमुखको रुपमा कार्यरत छन्।)