
सिमकोट – इन्सेक (मानव अधिकारका लागि क्रियाशील संस्था) कर्णाली प्रदेशले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो ६ वर्षमा प्रदेशमा १ हजार ५७२ जना महिला हिंसा पीडित भएका छन्।
सन् २०२० देखि २०२५ को जुलाईसम्मको अवधिमा कुल २ हजार ६६६ वटा घटनाहरूमध्ये ५९ प्रतिशत महिला हिंसासँग सम्बन्धित छन्।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले उपलब्ध गराएको विवरणअनुसार यस अवधिमा ८६ जना महिलाको हत्या भएको छ भने १९ जना बेचबिखनमा परेका छन्।
घरेलु हिंसा, यौन दुर्व्यवहार, धम्की जस्ता घटनाहरू कर्णालीमा बढी हुने गरेको इन्सेकको प्रतिवेदनमा उल्लेख छ।
महिला हिंसाका घटनाहरूको तथ्यांक वर्षअनुसार यस्तो छ:
- सन् २०२०: २१७ जना
- सन् २०२१: १९९ जना
- सन् २०२२: २१२ जना
- सन् २०२३: २७३ जना
- सन् २०२४: ४१५ जना
- सन् २०२५ (७ महिना): २५६ जना
इन्सेकले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि पर्याप्त कानुनी व्यवस्थाका साथै त्यसको प्रभावकारी कार्यान्वयनमा सरकार जवाफदेही बन्नुपर्नेमा जोड दिएको छ।