
आमरण अनिश्चितकालीन आमरण अनसन बसेका खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर अस्पतालबाट फेरि अनसनस्थल फर्केका छन्। चिकित्सकको सल्लाहबमोजिम वीर अस्पतालमा भर्ना भएका मेयर तीर्थराज भट्टराई अस्पतालबाट अनसनस्थल फर्केका हुन्।
तीन दिनसम्म भोकहड्तालमा बसेका मेयर भट्टराई माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन बसेका हुन्। साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा भट्टराईले आमरण अनशन सुरु गरेका हुन्। अस्पतालमै अनसनलाई निरन्तरता दिइरहेका भट्टराई फेरि माइतीघर मण्डला फर्केका हुन्।
माइतीघर मण्डलामा आमरण अनशनमा रहेका भट्टराईलाई बुधबार साँझ नेपाल प्रहरीले त्यहाँबाट उठाउन खोजेको थियो। प्रहरी र भट्टराईका समर्थकहरुबीच भनाभनसमेत भएको थियो।
रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराईले बाँदरलगायत जङ्गली जनावरको नीतिगत व्यवस्थापन गर्नुपर्ने, बाँस र कच्चा पदार्थ सरकारी कार्यालयमा प्रयोग गर्न बिल्डिङ कोर्ड र नर्म्स तयार गरी कानुन निर्माण गर्नुपर्ने, जथाभावी प्रकृतिको दोहन गर्ने क्रसर उद्योग लगायतलाई कानुन बनाई कारबाही गर्नुपर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गरी प्रदूषण गर्ने उद्योगीसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानुन बनाउनुपर्ने, काठमाडौँबाट खोटाङ जाने अलपत्र सडक र पुलहरु अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरी काम सम्पन्न गराउनुपर्ने लगायतका माग राखेका छन्।
तस्बिरहरू: