
दाङ- विगत केही दिनदेखि सक्रिय मनसुनका कारण दाङ, रोल्पा, प्युठान लगायतका जिल्लामा निरन्तर भारी वर्षा भइरहेको छ । सोही वर्षाका कारण दाङ जिल्ला भएर बग्ने बबई र राप्ती नदीमा पानीको बहाव उच्च हुँदै गएको र डुवान तथा कटानको जोखिम बढेको जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ ।
प्रशासनले मौसम पूर्वानुमान महाशाखा तथा सम्बन्धित निकायबाट प्राप्त सूचनाका आधारमा उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरू बढी जोखिममा रहने भएकाले उनीहरूलाई विशेष ध्यान दिन प्रशासनले अनुरोध गरेको छ ।
स्थानीय सुरक्षा निकायहरूसँग नजिकको सम्पर्कमा रहन, विपद्को अवस्थामा सुरक्षित स्थानमा सर्न तथा विपद् व्यवस्थापन समितिको मनसुनजन्य पूर्व तयारी तथा प्रतिकार्य योजनाअनुसार आवश्यक कदम चाल्न प्रशासनले निर्देशन दिएको छ ।
त्यस्तै, जोखिमयुक्त क्षेत्रमा रहेका पालिकाहरुलाई तत्काल प्रतिकार्य तयारी अवस्थामा रहदै उद्धार तथा प्रतिकार्यमा खटिन र आम जनतालाई सचेत गराउन समेत अनुरोध गरिएको छ ।
साथै, राजनीतिक दल, सुरक्षा निकाय, रेडक्रस, नागरिक समाज, विपद् सम्बन्धी काम गर्ने क्लस्टर तथा अन्य सरोकारवाला निकायहरुलाई समन्वयात्मक रूपमा सक्रिय रहन आग्रह गरिएको छ ।
विपद्को जोखिम न्यूनीकरण तथा तत्कालीन उद्धारमा संलग्न हुन सबैलाई आ-आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आग्रह गरेका छन्