
दाङ – लुम्बिनी प्रदेशमा निरन्तर परेको पानीका कारण जनजीवन प्रभावित भएको छ। पछिल्लो २४ घण्टामा बाढी, डुबान, पहिरो, चट्याङ, आगलागीलगायत ३७ वटा विपद् सम्बन्धी घटना घटेका छन्। ती घटनामा दुई वर्षीया बालिकाको ज्यान गएको छ भने एक जना प्रहरी जवान घाइते भएकी छन्।
प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार विभिन्न जिल्लाहरूमा विपद्का घटना भएका हुन्।
तुलसीपुर उपमहानगरपालिका–१४, दाङकी दुई वर्षीया थुम्मा बस्नेतको घरनजिकैको पानीको कुलोमा डुबेर मृत्यु भएको हो।
उता बाँकेको नरैनापुर गाउँपालिका–६ गंगापुरमा कार्यरत प्रहरी जवान सपना खड्का ड्युटीका क्रममा सर्पले डसेर घाइते भएको र अहिले नेपालगञ्जमा उपचार भइरहेको छ।
वर्षासँगै आएको बाढी र पहिरोले पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, रोल्पा, प्युठान, बाँके, बर्दिया लगायत जिल्लाका विभिन्न सडकहरू अबरुद्ध भएका छन्। कतिपय स्थानमा पहिरो पन्छाएर सवारी आवागमन सुरु गरिएको छ भने केही स्थानमा अझै सडक अबरुद्ध छन्।
बाँकेको राप्तीसोनारी गाउँपालिका–५ नवपुरमा वर्षाका कारण ९ वटा घर डुबानमा परेका छन्। घरभित्र पानी पस्दा खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन तथा कुखुरामा क्षति पुगेको जनाइएको छ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–७ मा आगलागीका कारण करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीमा एउटा बाख्रा मरेको र एउटा भैंसी घाइते भएको जनाइएको छ।
सडक अबरुद्ध हुँदा लामो तथा छोटो दूरीका यातायात सेवा प्रभावित भएका छन्। केही स्थानमा मर्मत तथा पहिरो पन्छाउने कार्य भइरहेको छ। जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र, स्थानीय तह, सुरक्षाकर्मी तथा प्राविधिक टोलीहरू परिचालनमा छन्।
वर्षाका कारण कच्ची घर, मन्दिर, गोठ, बिजुलीका पोललगायत संरचनामा पनि क्षति पुगेको छ। पहिरोले भत्काएका वा बगाएका संरचनाहरूको विवरण सङ्कलन भइरहेको छ।
हालसम्म मानवीय क्षति सीमित देखिए पनि भौतिक संरचनामा धेरै क्षति भएको अनुमान गरिएको छ। प्रदेश तथा स्थानीय तहका निकायहरू उद्धार, राहत तथा सरसफाइ कार्यमा सक्रिय छन्।