
नेपालगन्ज – नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकको रकम अपचलनमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने एक जना धरौटीमा रिहा भएका छन्।
अदालतका मुख्य भई काम गर्ने न्यायाधीश चन्द्रबहादुर सारु र न्यायाधीश पुनम चन्द सिंहको इजलाशले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र र वित्त प्रमुख बेदप्रकाशसिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई दुई लाख धरौटीमा छोडिएको अदालतका सूचना अधिकारी बलबहादुर विष्टले जानकारी दिए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले गरेको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले बैंकका संस्थापक अध्यक्ष रायसँग २ अर्ब ६३ करोड ३२ लाख १६ हजार ५ सय ९७, पूर्व अध्यक्ष मिश्रसँग ८२ करोड ४६ लाख २९ हजार, वित्त प्रमुख ठकुरीसँग २६ करोड ६३ लाख ९९ हजार असुल गर्ने गरि मुद्दा दायर गरेको थियो।
राष्ट्र बैंकका पूर्व कर्मचारी बस्नेतसँग १० लाख ६९ हजार २ सय ५० रुपैयाँ असुल्ने गरि मुद्दा दायर गरिएको थियो। बैंकको अवस्था खराव भइसक्दासमेत बस्नेतले राम्रो रहेको प्रतिवेदन दिएर बैंकबाट उक्त रकम घुस लिएको बताइएको छ। बैंकबाट बस्नेतको खातामा उक्त रकम गएको देखिएको थियो। बैंकको ३ अर्व २० करोड ११ लाख ५४ हजार अपचलन भएको भन्दै १ सय ९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।