
नेपालगञ्ज – होलिया सिम्रहनाका राजेश यादव डुंगा चढेर बिहान – बेलुका घाँस काट्न जान्छन्। डुडुवा नालाको वारि घर र पारी खेत रहेकाले नाला बढ्दा यादवलाई डुंगा चढ्नु पर्ने बाध्यता रहेको छ।
डुडुवा गाउँपालिका वडा नम्वर १, टेपरीमा पुल नहुँदा यादवजस्ता धेरै मानिसलाई आफ्नै खेतमा जाँदा डुंगा चढ्नु पर्ने बाध्यता रहेको हो। यादव भन्छन्, खेत नाला पारी छ। धान गोड्न र घाँस काट्न दिनमा कम्तीमा दुई पटक खेतमा जानुपर्छ, डुंगा नचढी सुखै छैन।
सिम्रहना, टेपरीगाउँका ८० प्रतिशत मानिसको जग्गा डुडुवा नालापारि कृषि चौफेरीमा जग्गा छ। डुडुवा गाउँपालिका कार्यालयले टेपरीमा डुंगाको व्यवस्था गरिदिएको छ। मासिक दस हजार पाउने गरी स्थानीय गोलु यादवले डुंगा चलाउँछन्।
उनले दिनमा ५०/६० जनालाई नाला वारपार गराउने जानकारी दिए। दशकौदेखि टेपरीमा पुल बनाउन माग हुँदै आएको छ। स्थानीय रामकरण यादवले अहिलेसम्म ३र४ पटक पुल बनाउन माटो परीक्षण गरिएको बताए।
डुडुवा नालामा सधैजसो पानी हुन्छ। बर्खामा नालामा बाढी आउँछ। घरमा पालेको भैसीलाई घाँसको व्यवस्था गर्न खेतमा जानै पर्छ।
टेपरी, सिम्रहना, छिट्टैपुरवा डुवान हुने ठाउँ हो।
२०७१ सालको बाढीले छिट्टैपुरुवावासीलाई उठीबास लगाइदिएको छ। त्यो वर्षपछि राप्ती नदीले धार परिवर्तन गरेकाले अहिले यहाँ डुडुवा नाला बग्छ। डुडुवाले पनि स्थानीयलाई समस्यामा पार्ने गरिएको छ।