
मोरङ – मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट फरार भएका एक थुनुवा १२ घण्टापछि झापाबाट पक्राउ परेका छन्। लागुऔषध मुद्दाका थुनुवा दमक नगरपालिकाका २७ वर्षीय नगेन लिम्बू उपचारका क्रममा ट्रमा सेन्टरबाट भागेका थिए।
उपचारका क्रममा भागेका उनलाई प्रहरीले झापा गाँउपालिकाको मेचे टोलबाट पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक नारायण चिमरियाका अनुसार शुक्रबार राति करिब साढे ११ बजे ट्रमा सेन्टरमा उपचारका लागि भर्ना लिम्बू शनिबार विहान ३ बजे फरार भएका थिए।
फरारसंगै प्रहरीले खोजविनका लागि उर्लाबारीस्थित इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको टोली खटिएको थियो। यसक्रममा लिम्बूलाई झापा गाँउपालिका हुदै भारत प्रवेश क्रममा रहेको अवस्थामा शनिबार दिउँसो करिब अढाई बजे पक्राउ गरिएको प्रहरी उपरीक्षक चिमरियाले जानकारी दिए।
लिम्बूलाई पेटमा समस्या आएपछि ट्रमा सेन्टर पुराइएको थियो। सोही क्रममा शनिबार अस्पतालको झ्यालबाट हामफालेर उनी भागेको प्रहरीले जनाएको छ। लिम्बू लागु औषध ऐन अन्तर्गत गत साउन २१ गते पक्राउ परेका थिए। उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएको थियो।