
तनहुँ – ताल्चाबिनाकै कोठामा जीर्ण बनेका धुलाम्मे र्याक। र्याकमा उस्तै धुलाम्मे अवस्थामा च्यतिनै आँटेका पुस्तकको चाङ। टेबलमा असरल्ल कम्प्युटरको मनिटर, किबोर्ड, फोटो फ्रेम, टुटफुट भएका शिलालेख, फाइल आदि इत्यादि।
आडैको अर्को कोठामा यत्रतत्र छरिएका छन् कुर्सी, टेबल र बेञ्चहरु। भुइँमा त्रिपाल बिछ्याएर कोदो सुकाइएको छ। रङरोगन गरेर बाँकी रहेका काम नलाग्ने सामाग्री र फोहोर उस्तै असरल्ल छन्।
अन्तर्राष्ट्रिय स्तरको बनिरहेको पृथ्वी राजमार्गसँगै जोडिएको चिरिच्याट्ट भवनमा जर्जर लाग्ने दृश्य तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जनपुस्तकालय हो। जहाँ ज्ञानको ज्योतिलाई जीर्णता र जर्जरताले उजाड बनाएको छ। वर्षौंदेखि बेवास्तामा रहेको पुस्तकालयले अहिले न नियमित सेवा दिन्छ न त भएका ऐतिहासिक पुस्तकको संरक्षण नै गरेको छ।
पाठकबिनाको अस्तव्यस्त पुस्तकालयको कन्तबिजोग दृश्य देखेपछि साहित्यकार त्रिवेणीको मन चसक्क दुख्यो। ‘यस्तो पनि पुस्तकालय हुन्छ?’, उनको मनमा लाग्यो।
व्यवस्थापन समितिसँगै पारिश्रमिक लिएर खटिने कार्यालय सहयोगीले निकै हेलचक्र्याइँ गरेको उनले बताए। ‘पूर्वशिक्षक व्यवस्थापन समितिको अध्यक्ष भएपछि कम्तिमा गतिलो व्यवस्थापनले चलाउनुपर्दैन?’, आक्रोशका साथ प्रश्न तेर्साउँदै उनी भन्छन्, ‘ज्ञानको काम गर्ने मान्छेको नेतृत्वमा भएको पुस्तकालय यस्तो पनि हुन्छ?’ जनपुस्तकालय लापरवाहीको हद भएको उनी बताउँछन्।
यो पुस्तकालय २०२५ सालमा स्थानीय उत्साही बुद्धिजीवि मिलेर स्थापना गरेका हुन्। चन्दा संकलन गरेर ठड्याइएको पुस्तकालयमा ३ हजार बढी पुराना पुस्तक, पत्रपत्रिका र अध्ययन सामग्रीहरु उपलब्ध छन्। तर, बेहाल अवस्थामा छन्।
६० को दशकसम्म विद्यालयका विद्यार्थीदेखि साहित्यप्रेमी, राजनीतिज्ञहरू यही पुस्तकालय बसेर घण्टौँ बिताउँथे। प्रविधिको विकास, इन्टरनेटको पहुँचसँगै पुस्तकालय सुनसान भयो। तर, हेलचक्र्याइँका नमुना व्यवस्थापनले पुस्तक र पुस्तकालयलाई माया गर्ने सीमित पाठकलाई पनि आकर्षण गर्न सकेन।
व्यवस्थापन समितिको लापरवाहीले शुक्लागण्डकी नगरपालिकाकै एक मात्र सार्वजनिक पुस्तकालय मृत्युशय्यामा पुगेको हो। ११ वर्षदेखि पुस्तकालय व्यवस्थापन समितिको अधिवेशन भएको छैन। एक दशकदेखि पुस्तकालय व्यवस्थापन समितिको अध्यक्षमा राज गरिरहेका छन् रिटायर्ड शिक्षक राजेन्द्रप्रसाद शर्माले।
उनीसँगै व्यवस्थापन समितिका सदस्यहरु नै असन्तृष्ट छन्। ‘न मिटिङ हुन्छ न साधरणसभा हुन्छ। पोहोर एकैपटक रिन्यू र अडिट भएको हो’, पुस्तकालय व्यवस्थापन समितिका एक सदस्य भन्छन्, ‘रकम भुक्तानी दिने बेलामा पनि हामीसँग सरसल्लाह हुँदैन।’
पुस्तकालयमा एक जना कार्यालय सहयोगी कार्यरत छन्। मासिक ५ हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ। तर, ती कार्यालय सहयोगीले पुस्तकालयको सरसफाइ गर्ने, पुस्तक मिलाउने त परको कुरा हो सिन्को भाँच्ने काम गर्दिनन्।
व्यवस्थापन समितिका ती सदस्य कार्यालय सहयोगी पनि अध्यक्ष शर्माले आफू खुशी राखेको आरोप लगाउँछन्।
अब पुरानो मानसिकताले पुस्तकालय नचल्ने भएकाले अधिवेशन गरेर नेतृत्व नयाँ पुस्तालाई हस्तानतरण गर्न आवश्यक रहेको बताए।
व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र शर्मा भने आर्थिक अभावका कारण पुस्तकालय सञ्चालनमा समस्या भएको बताउँछन्। ‘एकदमै आर्थिक अभाव भयो। नगरपालिकाले कर्मचारीको तलब मात्रै खुवाइदिने हो भने पनि वार्षिक ६० हजार रुपैयाँ खर्च घट्थ्यो’, उनी भन्छन्, ‘त्यो रकमले केही गर्न सकिन्थ्यो। नगरपालिकालाई अनुरोध गरेर फाइल पठाइदेको छु।’
ऋण लिएर भवन निर्माण गरेकाले अझै एक लाख एक हजार रुपैयाँ तिर्न बाँकी रहेको जानकारी दिए। पुस्तकालय भवनको पहिलो र दोस्रो तला मासिक ३८ हजार रुपैयाँ भाडा लिने गरेर हार्डवेयर पसललाई दिइएको छ। अब क्याफेसहित पुस्तकालय सञ्चालन गर्ने योजना रहेको अध्यक्ष शर्माले सुनाए।
शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले अधिवेशन नभएकै कारण पुस्तकालय कन्तबिजोग अवस्थामा पुगेको बताउँछन्। ‘वडाबाट धेरै पटक भनेका छौँ। नवीकरण र अडिट बल्लबल्ल भएको छ’, उनी भन्छन्, ‘संस्था सिस्टममा नचलेसम्म विकास हुँदैन।’
उनले पुस्तकालय सञ्चालनमा आर्थिक अभावलाई समस्या देखाउन नमिल्ने बताए। यसअघि वडाले पनि बजेट दिँदै आएकोमा अधिवेशन, नवीकरण, अडिटलगायतको काम नभएपछि रोकिएको बताए। अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर प्रक्रियाअनुसार काम भएमा वडासँगै नगरपालिकाले पनि बजेट दिने जनाएका छन्।