
धनगढी – आर्थिक वर्ष सुरु भएको तिन महिनाको अवधिमा समेत सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वय हुन सकेको छैन।
सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याएको २५ अर्ब ६ करोडभन्दा बढीको बजेट कार्यान्वयनका लागि खाका समेत बन्न सकेको छैन।
आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आर्थिक वर्ष सुरु भएको तीन महिना बित्नै लाग्दा पनि बजे कार्यान्वयनमा जान नसकेको स्वीकार गरे।
उनले बजेट कार्यान्वयन गर्ने निकाय, कर्मचारी अभाव लगायतका कारण बजेट कार्यान्वयनको चरणमा जान नसकेको बताए। हालसम्म मन्त्रालयले बजेट कार्यान्वयको खाका नै तयार गर्न सकेका छैनन्।
सबै मन्त्रालयले बजेट कार्यान्वयनका लागि तयार पारेको खाका अन्तिम चरणमा रहेको र प्रदेश सरकारका कार्यालय, विभाग, निर्देशनालय र कर्मचारी पनि आइसकेकाले अब बजेट कार्यान्वयन गर्ने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ।
फुटेन डल्लो बजेट!
प्रदेश सरकारले डल्लो बजेट समेत बाँडफाँड गर्न सकेको छैन। चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटमा सरकारले बिना शीर्षक करिब ३ अर्ब रुपैयाँ राखेको थियो। त्यसको बाँडफाँड अझै हुन नसकेको हो।
प्रमुख प्रतिपक्षी दलले डल्लो बजेट नफुटाएको भन्दै सरकारको आलोचना समेत गर्दै आएका छन्। सरकारले भित्रै–भित्रै उक्त बजेटको बाँडफाँड गरिरहेको आरोप प्रतिपक्ष दलले लगाउँदै आएका छन्।
मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्षलाई सँगै राखेर डल्लो बजेट फुटाइने बताएपनि अर्थमन्त्री बोहराले उक्त बजेटको बाँडफाँड गर्दा प्रतिपक्षीसँग कुनै छलफल गर्न आवश्यक नरहेको बताए। उनले डल्लो बजेटलाई प्रदेशको विकासमा खर्च गर्ने गरी बाँडफाँड गरिने जानकारी दिए।
पौने १० करोड राजश्व संकलन
प्रदेश सरकारले चालु आर्थिक बर्षको दुई महिनामा कुल लक्ष्यको ७ दशमलव ५४ प्रतिशत राजश्व संकलन गरेको जानकारी दिएको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक अर्ब २१ करोड ६५ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो।
साउन र भदौ महिनामा ९ करोड ७७ लाख ६५ हजार ७ सय १ रुपैयाँ राजश्व संकलन गरिएको अर्थमन्त्री बोहराले जानकारी दिएका छन्।
अर्थमन्त्रालयले घरजग्गा शीर्षकमा ५ करोड ४२ लाख ५ हजार ७ सय १५, सवारी साधनमा ४ करोड र दण्ड जरिवानामा ४७ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ।
प्रदेश सरकारले अन्य शीर्षकबाट पनि राजश्व संकलन गर्ने जनाएपछि स्थानीय र केन्द्रसँग समन्वय हुन नसकेका कारण राजश्व संकलन गर्न समस्या भइरहेको जनाएको छ।