
मोरङ – विराटनगरस्थित बालसुधार गृहको अवस्था सामान्य बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दिउँसो करिब १ बजेबाट सुधार गृहमा झडप भएको थियो। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नारायण चिमोरियाका अनुसार कानुनी विवादमा थुनामा रहेका बाल विज्याइकर्ताबीच झडप भएको हो।
दिउँसो दुवै पक्षबीच झडप भएपछि केहीबेर तनावको अवस्था रहे पनि अहिले गृहको स्थिति शान्त रहेको प्रहरी उपरीक्षक चिमोरियाले जानकारी दिए।
झडप नियन्त्रणका क्रममा सुधार गृहको सुरक्षामा खटिएका प्रहरी शम्भु चौधरी र वरिष्ठ हवल्दार हिरणकुमार मण्डल घाइते भएको उनले बताए।
झडप सुरु भएको खबरसँगै गृहमा वडा प्रहरी कार्यालय विराटनगर र अन्य युनिटबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। झडपका क्रममा सुधार गृहको मेश भवन, सुरक्षा ब्यारेक, कार्यालय कोठा, झ्याल सिसा र कुर्सीहरू तोडफोड गरिएको छ।
यद्यपि, केही समय सुरक्षाकर्मीसमेत गृहभित्र प्रवेश गर्न पाएका थिएनन्। झडप सामान्य बनाउने क्रममा सुरक्षाकर्मीले सुधार गृहलाई घेरा हालेर नियन्त्रणमा लिएका थिए।
५० जनाको क्षमता रहेको गृहमा २ सय ४९ जना बाल बिज्याइकर्ता रहेका छन्। झडपसँगै करिब १ सय ३० जना बाल विज्याइकर्ताले सुधार गृहको मूलढोका फोडेर भाग्ने प्रयास गरेको प्रहरीले जनाएको छ।
घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनापछि प्रहरीको नियन्त्रणसँगै गृहबाट कोही भाग्न नपाएको बताए। विभिन्न अपराधमा संलग्न १८ वर्षमुनिका बाल वित्याइकर्तालाई अदालतको आदेशअनुसार सुधार गृहमा राखिने भए पनि वैकल्पिक व्यवस्था अभावमा १८ वर्ष पार गरेका थुनुवासमेत गृहमा राखिएको छ। जसकारण समय–समयमा विवाद र झडप हुने गरेको छ।