
धनगढी – बाजुराको बिच्छ्यामा आएको बाढीले आसपासका १८ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। अविरल वर्षाले बुधबार हिमाली गाउँपालिका–१ अन्तर्गत बिच्छ्या खोलामा आएको बाढीले भौतिक क्षति भएकाे हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाढीले बिच्छ्यामा ७ घर र कुवाडीमा ११ घर गरी १८ वटा घर पूर्णरुपमा क्षति भएका छन्। सो बाढीका कारण दुई दर्जन बढी घरसहित सरकारी संरचनाहरु उच्च जोखिममा रहेका छन्। बाढीले केही घर बगाएको छ भने केही पुरिएका छन्। मानवीय क्षति भने भएको छैन।
अविरल वर्षापछि आएको बाढीका कारण वडा नम्बर १ बस्ने नरेन्द्र बहादुर बुढा, छन्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा र गोतल थापाको घर पूर्ण रुपमा क्षति भएका छन्।
घर, पसलसहित खेतबारीमा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले बताए। उनका अनुसार उक्त खोलामा आएको बाढीका कारण सोही ठाउँका १७ वटा घर उच्च जोखिममा रहेका छन्।
त्यस्तै, बाढीबाट हिमाली गाउँपालिका–१ को वडा कार्यालय भवन, बिच्छ्या मावि, बिच्छ्या स्वास्थ्य चौकी, झोलङ्गे पुलसहित विद्युत लाइनसमेत उच्च जोखिममा रहेका छन्। त्यसैगरी बिच्छ्या खोलामा आएको बाढीले वडा नम्बर ५ कुवाडीमा पनि करिब एक दर्जन घरहरु बगाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चौधरीका अनुसार वडा नम्बर ५ बस्ने नवराज बुढथापा, देवीलाल चदारा, बिरमल चदारा, अजय चदारा, अङ्गवीर चदाराको घर बाढीले बगाएको छ।
त्यस्तै, बलबहादुर चदारा, मुगा लुहार, देविलाल बुढथापा, विरभान लुहार र डबल लुहारको घर कुवाडी खोलामा आएको बाढीले बगाएर क्षति भएको उनले बताए।
बिच्छ्यामा फोन सम्पर्कसमेत नहुँदा पनि थप समस्या भएको स्थानीयले बताएका छन्। बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले अकस्मात आएको बाढीले बिच्छ्या र कुवाडीमा ठूलो भौतिक क्षति भएकाे बताए। उनले अझै क्षतिकाे विवरण संकलन भइरहेकाे जानकारी दिए।