
जनकपुरधाम – सिरहामा ८५ वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सरहाकै धनगढीमाई नगरपालिका २ भवानीपुर टोल बस्ने ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।
सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले साउन १४ गते चोरी गर्ने उदेश्यले दुबै जना आरोपित धनगढीमाई ११, आमचौक स्थित ८५ वर्षीय फनिलाल यादवको घरमा चोरी गर्ने उदेश्यले छिरेकोमा होहल्ला गरेपछि यादवमाथि खुकुरी प्रहार गरेका थिए।
प्रवक्ता पासवानले साँझको समयमा यादव घाईते अवस्थामा फेला परेकोमा उपचारको लागि प्रादेशिक अस्पताल लहान सिरहा पठाइएकोमा उपचारको क्रममा राति ८ बजेर २० मिनेटमा मृत्यु भएको घटनामा दुबैजनालाई पक्राउ गरिएको जानकारी दिए।
इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा, मधेस प्रदेश प्रहरी कार्यालय र केन्द्रिय अनुसन्धान व्युरोको संयुक्त टोलीले अनुसन्धानको क्रममा घटनास्थल नजिकै जडान रहेको सिसिटिभि क्यामेरामा चौधरीलाई शंकास्पद अवस्थामा देखेका थिए।
चौधरीलाई खोजतलाश गर्ने क्रममा मंगलबार उनको आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएका छन्। दुबै जनाले वारदातमा प्रयोग भएको हतियार चौधरीको काकाको रहेको र घटना पश्चात काकाको घरमा नै रहेको खुलेपछि सोही दिन वारदातमा प्रयोग भएको हतियार बरामद गरिएको थियो।
मण्डललाई प्रहरीले गत शुक्रबार नै अभद्र व्यवहार कसूरको अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको थियो। दुबै जनाको हकमा सिरहा जिल्ला अदालतबाट बुधबारदेखि लागु हुने गरी ७ दिनको म्यादथप अनुमती प्राप्त गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।