
हुम्ला- मानसरोवर कैलाशको दर्शन गर्नका लागि तीन हजार नौ सयभन्दा बढी पर्यटकहरु सिमकोट हुँदै मानसरोवर कैलाशतर्फ प्रस्थान गरेका छन् ।
विशेष गरी चीनले मानसरोवर कैलाशको दर्शन गर्नका लागि भारतीय धार्मिक पर्यटकहरुलाई हिल्सा नाका खुला गरेपछि यति धेरै पर्यटकहरु हुम्ला हुँदे मानसरोवर कैलाश पुगि सकेका छन् ।
गत जेठ महिनायता मानसरोवर कैलाशको धार्मिक यात्रा गर्नका लागि भारतीय र अन्य मुलुकका गरी तीन हजार ९३० जना पर्यटकहरु हुम्लाको सदरमुकाम सिमकोटबाट हिल्सा हुँदै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुबहादुर श्रेष्ठले बताए । यसमा साउन महिनामा मात्र एक हजार ४५६ जना पर्यटकहरु भित्रिएका छन् भने गत वैशाखदेखि असार महिनासम्म दुई हजार ४७४ जना पर्यटकहरु सिमकोट भित्रिएका छन् । जसमा तीन हजार ४५२ जना भारतीय धार्मिक पर्यटक भित्रिएका छन् भने ४७८ जना अन्य देशका पर्यटकहरु मानसरोवर कैलाशका लागि भित्रिएका छन् ।
हालसम्म सिमकोट हुँदै हिल्साबाट मानसरोवर कैलाश पुगेका पर्यटकहरुमा दुई हजार २४२ जना पुरुष र एक हजार ६८८ जना महिला पर्यटकहरु भित्रिएका हुन् । पर्यटकहरु आउन सुरु भएपनि सिमकोट बजार र हिल्सामा चहल पहल बढेको पर्यटन ब्यवसायी मिमबहादुर तामाङले बताए ।
सिमकोट हिल्सामा भरियाहरुले समेत काम पाएका छन् । दैनिक सिता, समिति र तारा एयरका सात वटा जहाजहरुले नेपालगञ्जबाट मौसमले साथ दिए बीसभन्दा बढी उडान भर्ने गरेका छन् भने छ वटा हेलिकोप्टर सिमकोटबाट हिल्साका लागि दैनिक साठीभन्दा बढी उडान भर्ने गरेका छन् ।
हेलिकोप्टरहरुले बिहान छ बजेबाटै उडा भर्न सुरु गर्ने गरेका छन् ।