
काठमाडौँ– कक्षा १२ को रिजल्ट आएपछि कलेजले नयाँ विद्यार्थी भर्नाका लागि आह्वान गरिरहेको छ। कलेजहरूले सकेसम्म नयाँ विद्यार्थी आफ्नै कलेजमा तान्न अनेक विज्ञापनको सहारा लिइरहेका छन् । तर, प्लस टु पास भएका विद्यार्थी स्नातक पढ्न नयाँ क्याम्पस खोजिरहेका होलान् त?
डिल्लीबजारस्थित पद्मकन्या क्याम्पसकी प्रमुख अपराजिता अर्याल प्लस टु पास भएका विद्यार्थीले अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, युके, दक्षिण कोरियाजस्ता मुलुक जाने योजना सुनाउने गरेको बताइन्। ‘हाम्रो कलेजबाट प्लस टु पास भएका धेरै विद्यार्थीलाई ब्याचलर भर्ना गर्यौ भनी सोधेको थिएँ तर उनीहरूले ‘ल्याङ्ग्वेज’ पढेर बाहिर जाने उत्तर दिए,’ अर्यालले भनिन्।
अध्ययन भिसामा विदेशका विभिन्न विश्वविद्यालयमा पुगेका विद्यार्थी नेपाल फर्किएको कमै पाइने उनले बताइन्। यस्तो अवस्थाबारे थाहा पाएकी अर्याल आफ्ना विद्यार्थीलाई नेपालमै पढ्न हौसाउँछिन्, सम्झाउँछिन्। तर, विद्यार्थीले सुन्दैनन्।
नेपालको शैक्षिक संस्था आफैँमा राम्रा छन्। पढाइ पनि गुणस्तरीय छ। तर, विद्यार्थीहरू जति चाँडो हुन्छ आइएलटिएस, पिटिई, टोफलजस्ता भाषा परीक्षाको तयारीमा जुटेको पाइन्छ।
अवसरको अभाव, बेरोजगारी र महँगीका कारण विदेश जान लालायित भएको देख्छिन् अर्याल। भन्छिन्, ‘शैक्षिक प्रणाली र राजनीतिक अस्थिरतालगायतका कारण पनि कक्षा ११ पढ्दादेखि नै बिदेसिने सोच बनाएका हुन्छन्।
अर्याल डिल्लीबजार कन्या कलेज प्रमुख भएकै १२ वर्ष भयो। तर बितेका दश वर्षमा ६० प्रतिशतले विद्यार्थी घटेर गएको बताउँछिन् उनी। उनी भन्छिन्, ’विद्यार्थी यसरी नै बाहिर जाने हो भने कलेजहरू बन्द हुन्छन्।’
उपत्यका बाहिर रहेको गण्डकी प्रदेशको कावासोती नगरपालिकास्थित कुमारबर्ती बहुमुखी क्याम्पसमा पनि यही समस्या छ। म्यानेजमेन्टतर्फका विद्यार्थीबाहेक अन्य विभागमा विद्यार्थी भर्ना न्यून भएर गएको प्रिन्सिपल विष्णु न्यौपाने बताउँछन्।
‘भर्ना दरमा कमी नआए पनि ड्रपआउट हुने विद्यार्थी धेरै छन्,’ उनले भने, ‘बीचैमा पढाइ छाड्नेहरू ब्याचलरका विद्यार्थी नै बढी छन्।’
म आफ्नै देशमा बसेर केही नयाँ गर्छु र आफ्नो भविष्य बनाउँछु भन्ने किशोर पुस्ता पाउनै गाह्रो हुँदा विश्वविद्यालयका कक्षाकोठा खाली हुन थालेका छन्। र, सामुदायिक कलेजमा मात्रै नभएर निजी कलेजमा पनि दयनीय अवस्था छ।
ललितपुरस्थित नेपाल कलेज अफ म्यानेजमेन्टमा हालको वर्ष नयाँ विद्यार्थी भर्ना हुने क्रममै रहेकाले तत्काल यति नै विद्यार्थी घटेर गए भन्न नसकिने बताउँछन् प्रिन्सिपल प्राध्यापक डाक्टर सुनिलभक्त माथेमा।
‘भर्ना भर्खरै सुरु भएको छ। र पनि पहिलेको तुलनामा न्यून विद्यार्थी भर्ना भइरहेका छन्,’ उनले भने, ‘विद्यार्थी अहिले गाउँबाटै आएनन्।’
नेपाल कलेज अफ म्यानेजमेन्टमा कोसी प्रदेश र सुदूरपश्चिमका विद्यार्थी पढी भर्ना भएको बताउने माथेमा भन्छन्, ‘उपत्याकावासीका बच्चा त नेपालमा पढ्दै पढ्दैनन्। सायद अभिभावक पनि यहाँ पढाउन चाहँदैनन्।’
यो वर्ष स्नातक तह भर्ना प्रक्रियामै भएकाले ठ्याक्कै यति विद्यार्थी घट्छन् भन्न सक्दैनन् काठमाडौँ विश्वविद्यालयका डिन विजय केसी। ‘तर, ब्याचलर पढ्ने विद्यार्थीको संख्या समग्रमा घट्दो छ,’ उनले भने।
मानविकी, शिक्षालगायत संकायमा विद्यार्थी कम भइरहेका बेला व्यवस्थापन, विज्ञान तथा प्रविधि इन्जिनियरिङ र मेडिकल शिक्षामा समेत स्नातक तहमा भर्ना घट्न थालेको छ।
कञ्चनपुर पुनर्वासका आयुष मगर मित्रपार्कस्थित टेक्सास कलेजमा पढ्थे। १२ पास गरेपछि उनी भिसाका लागि कुदिरहेका छन्। विदेशमा पढ्ने र कमाउने सोच बोकेर उनी अहिले पठाओ चलाइरहेका छन्। भन्छन्, ‘यो देशमा पढेर जागिरै पाइँदैन। बरू विदेशमै पढ्ने काम पनि उतै गर्ने।’
‘प्लस टुपछि विद्यार्थीको सोच बदलिने समय हो। स्वतन्त्रता चिन्न सक्ने उमेर भएकाले प्लस टु पास भएका विद्यार्थी बाहिर लालायित भएका हुन्,’ प्रमुख अर्याल बताउँछिन्।
नेपालमा विदेश जाने संस्कृति नै चौगुनाले बढेको देख्छन् कुमारबर्ती बहुमुखी क्याम्पसका प्रिन्सिपल न्यौपाने।
उनी भन्छन्, ‘धेरै विद्यार्थी ब्याचलर पढ्दै आइएलटिएस गरिरहेका हुन्छन्। साथै, विदेश जाने विदेश पढ्ने कल्चर पनि ह्वात्तै बढ्यो। छिमेकी विदेश गएको देखेर आफूलाई कहिले जाउँला जस्तो गर्छन्।’
ओखलढुंगाकी पूजा पोखरेल पनि जापानिज भाषा पढ्दै छिन्। उनी ब्याचलर पढ्न काठमाडौं आएकी थिइन् तर भाषा कक्षामा आफ्ना साथीहरू भएपछि जापानिज भाषा पढ्न थालेको बताउँछिन्, ‘यहाँ पढेर पनि अन्तिममा विदेश नै जानुपर्छ। त्योभन्दा सुरुबाटै भाषा पढेको राम्रो भन्ने लागेर जापानिज भाषा पढ्न थालेको हुँ।’
कपनको एक कलेजमा पढ्ने सम्झना बस्नेत कलेज भर्ना हुनुको साटो अस्थायी तरकारी पसल चलाउन थालेकी छन्। साँझ–बिहान तरकारी पसल चलाउँदै भाषाको कक्षा सिकिरहेकी सम्झना नेपालमा भविष्य सुरक्षित नभएकै कारण विदेश जाने योजना गरेको बताउँछिन्।
भन्छिन्, ‘विदेशमा गएर अध्ययन गर्दा आफ्नो भविष्य सुरक्षित त हुन्छ। उनले युरोपको विभिन्न देशका विश्वविद्यालयमा छात्रवृत्तिका लागि निवेदन पनि दिएकी छन्। उनी विदेश पढ्ने कुरामा निकै आशावादी छिन्।
नेपालमा सन्तानलाई राम्रो मुलुकमा पढ्न पठाउन अभिभावक नै तयार छन्। छोराछोरी विदेश पठाउन जतिसुकै ऋण काढ्न तयार छन्। कतिपय अभिभावक खाडीमा कमाएर आफ्ना सन्तानलाई अष्ट्रेलिया— क्यानडा पठाउने गर्छन्।
नेपालका शिक्षामा दुई नीतिले विद्यार्थीलाई असर परेको देख्छन् केयुका डिन केसी। निजी स्कुलमा प्रशस्त पैसा चाहिने र सरकारी स्कुलको गुणस्तर खस्किएका कारण विद्यार्थी नेपालमा पढ्न नमानेको देख्छन् केसी।
उनी भन्छन्, ‘गाउँबाट आएका विद्यार्थीलाई फण्डिङको समस्या छ। पहुँचवालाहरूको विद्यार्थी विदेश पढ्ने अनिवार्यजस्तो भयो।’
पछिल्लो समय व्यवस्थापनमा भने विद्यार्थी देखिन्छन् र कलेज पनि च्याउझैँ उम्रिएका छन्। मानविकी, शिक्षा शंकाय लिएर पढ्ने विद्यार्थी पाइँदैन।
माथेमा भन्छन्, ‘व्यवस्थापन शंकाय अझै बिचल्ली अवस्थामा पुगेको छैन। बाँकी फ्याकल्टी नाजुक अवस्थामा छ।’
व्यवस्थापन होस् कि विज्ञान प्रविधि विद्यार्थीलाई मार्केटमा स्थापित हुन गाह्रो देख्छन् डिन केसी। इनफरमेशन टेक्नोलोजी (आइटी) दिमागमा लाद्ने काम भइरहेको बताउँछन्। र, यसखालको वातावरण अभिभावकबाटै भइरहेको उनको तर्क छ।
भन्छन्, ‘विद्यार्थीलाई सही गाइड गर्नुपर्ने अभिभावकले हो। तर, अभिभावकहरू देखासिकीमा लाग्नुभयो। उहाँहरू आफ्ना बच्चालाई विदेश पठाउने या नेपालमा आइटी र म्यानेजमेन्ट पढ्न दबाब दिने वातावरण बनाइयो। यसखालको शिक्षाले राम्रो नागरिक बनाउन सकिन्न। टेक्निकल मात्रै पनि जीवनका लागि ज्ञान होइन। अरु पनि धेरै छन् ज्ञानको क्षेत्र।’
‘एजुकेशन पोलिसी नै कन्फ्युजन खालको छ। सरकारी नीति सुधार्नतिर कोही लाग्दैनन,’ डिन केसीले भने, ‘हामीले देशको आवश्यकता पहिचान गरी शिक्षा दिनुपर्ने थियो। तर गर्न सकिएन।’
लामो समय त्रिभुवन विश्वविद्यालयमा पढाएका माथेमाले नेपाली शिक्षा प्रणालीमा सुधार नआएसम्म विद्यार्थी रोक्न नसकिने देख्छन्। ‘आजका पुस्ताले के चाहेका छन्। कस्ता विषय पढ्न चाहेका छन्, त्यो चासोको विषय बनेन। केवल सरकारले आफ्नो एजेन्डाअनुसार शिक्षा लाद्यो। अनि विद्यार्थी रोकिएनन् भनेर रोइकराइ गरेर के गर्नु,’ माथेमा भन्छन्।
विदेश जाने विद्यार्थीको संख्या प्रतिदिन बढ्दो छ। सरकारी विवरणले उच्च शिक्षाका निम्ति नेपालबाट बाहिरिने पनि बढ्दै छ। एकातिर विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने र अर्कोतिर ‘दक्ष जनशक्ति पलायन’को अवस्था आएको छ।
देशमा दुई दशक राजनीतिक अस्थिरता नै रह्यो। नयाँ संविधान बनेपछि राजनीतिले लय समाउनेछ र सबै कुरा सुध्रिन्छ भन्ने आशा पनि हराउँदो अवस्थामा छ।
शैक्षिक प्रणालीमा आउन नसकेको सुधारका कारण पनि ब्याचलरमा विद्यार्थी पाउन गाह्रो हुँदै गएको बताउँछन् शिक्षाविद्हरू।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका पाँच दर्जन बढी आंशिक क्याम्पस र ४ सय ७० भन्दा बढी सामुदायिक क्याम्पस छन्। दुई प्रतिष्ठान र हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस भविष्यमा स्कुल मर्ज भएजसरी कलेज पनि मर्ज हुने अवस्थामा पुग्ने हो कि !