
धनगढी – सुदूरपश्चिम प्रदेशको वर्षे अधिवेशन सम्पन्न भएको छ। जेठ २ गतेबाट सुरु भएको वर्षे अधिवेशन ४७ दिनमा ५३ बैठक बस्दै मंगलबार सकिएको हो।
उक्त समयमा संसद बैठक ६२ घण्टा ३२ मिनेट बसेको छ। मंगलबार सभामुख अर्जुनबहादुर थापाले संसदको वर्षे अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख मोहनराज मल्लले पठाएको पत्र सुनाउदै अधिवेशन अन्त्य भएको घोषणा गरेका छन्।
वर्षे अधिवेशनमा संसदले १५ ऐन कानुन निर्माण गरेको छ। स्थानीय तहका कानुन निर्माण, गाउँसभा र नगरसभा सञ्चालन सम्बन्धी कानुन, स्थानीय तह तथा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सम्बन्धी लगायतका १५ कानुन निर्माण गरिएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए।
कानुन निर्माणसँगै प्रदेशको नाम र राजधानी तथा विषयगत समितिका सभापतिका निर्वाचन गराउनुलाई वर्षे अधिवेशनको महत्वपूर्ण उपलब्धि मानिएको छ।
संसदले प्रदेशको नाम र राजधानी दुई तिहाई बहुमतका साथ पारित गरेको थियो। विषयगत समितिका सभापति निर्विरोध चयन गरेको थियो।
वर्षे अधिवेशनको अन्त्यअघि नेकपाको तर्फबाट बौल्दै प्रमुख सचेतक तारालामा तामाङले वर्षे अधिवेशन महत्वपूर्ण र सफल रहेको दाबी गरे।
कानुन निर्माणसँगै प्रदेशको नाम र विषयगत समितिका सभापतिका निर्वाचन गराउनुलाई वर्षे अधिवेशनको महत्वपूर्ण उपलब्धी मानेको प्रमुख
प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको राजधानी तोकिएको विषयमा विरोध कायमै राखेको छ। कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेशको राजधानी तोक्दा संसदीय मर्यादा विपरीत तोकिएको टिप्पणी गर्दै पुनर्विचार गर्न पनि आग्रह गरे।
त्यस्तै, प्रदेश सरकारले संसदलाई बिजनेश दिन नसकेको, प्रदेशमा शान्तिसुरक्षा कामय गर्न नसकेको, मूल्यबृदि नियन्त्रण गर्न नसकेको लगायतका आरोप लगाउदै प्रतिपक्षी दलले गल्तीलाई सुधारेर जान सुझाव दिएको छ।