
मोरङ- मोरङको बुढीगंगा गाउँपालिकामा अवस्थित विराट शिक्षण अस्पतालले स्त्री तथा प्रसूति विभागको सेवा विस्तार गरेको छ ।
अस्पतालले मंगलबार एक कार्यक्रम आयोजना गर्दै उक्त सेवालाई २०० शय्याको क्षमतामा पुर्याएको जानकारी दिएको हो ।
अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीका अनुसार सेवा विस्तारसँगै अस्पतालले पाँचवटा अत्याधुनिक शल्यक्रिया थिएटरहरू पनि सञ्चालनमा ल्याएको छ, जसबाट शल्यक्रिया थिएटरको कुल संख्या २४ पुगेको छ ।
नवनिर्मित स्त्री तथा प्रसूति विभागको संयुक्त रूपमा उद्घाटन काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्ले र अस्पतालका अध्यक्ष डा. कार्कीले गरेका थिए ।
सोही अवसरमा बोल्दै डा. कार्कीले सरकारले मेडिकल शिक्षामा कोटा वृद्धि गर्ने निर्णयको प्रशंसा गर्दै यसले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताए ।
उनले भने, “सरकारले अहिले १० वर्षपछि आएर कोटा वृद्धि गर्ने निर्णय गरेर ‘आइस ब्रेक’ गरेको छ । यो निर्णय स्वागतयोग्य छ । यद्यपि, निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरी पूर्वाधार निर्माणमा फड्को मारेको छ ।”
विराट शिक्षण अस्पतालले मुलुककै सबैभन्दा ठूलो १०० शय्याको आकस्मिक विभागसहित विभिन्न विशेषज्ञ सेवाहरू प्रदान गर्दै आएको छ ।
अस्पताल प्रशासनका अनुसार हाल यहाँ २० भन्दा बढी स्त्रीरोग तथा प्रसूति विशेषज्ञ चिकित्सकहरूले नियमित सेवा दिइरहेका छन् ।