
मोरङ – प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहद्वारा लिखित गैरआख्यान ‘गर्भको गर्व’ माथि विराटनगरमा संवाद कार्यक्रम आयोजना गरिएको छ।
विराटनगरमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाले ‘गर्भको गर्व’ लाई एक अत्यन्तै पठनीय र महत्वपूर्ण कृति भएको बताएका थिए। कार्यक्रममा पूविका उपकुलपति डा. थपलियाले पुस्तकका लेखक डा. साहले पेशागत अनुभवका क्रममा देखेका र भोगेका यथार्थपरक घटनाहरूलाई पुस्तकमा जीवन्त रूप दिएको बताए।
कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकारहरू हरि बराल, हरि कट्टेल, मीनकुमार नवोदित र दिनेश श्रेष्ठले ‘गर्भको गर्व’ मा उल्लेखित कतिपय पात्र र प्रसंगहरू वास्तविक घटनामा आधारित रहेको बताए। उनीहरूले पुस्तकले महिलाले गर्भावस्थामा भोग्नुपर्ने अनेकन जटिलता, उमेरको अपरिपक्वतामा गरिने विवाह, जन्मान्तर कम हुँदाको समस्या र छोराको चाहनामा एक नारीले ज्यानको बाजी लगाउनुपर्ने जस्ता संवेदनशील विषयलाई सशक्त रूपमा उजागर गरेको जिकिर गरेका थिए।
कार्यक्रममा लेखक डा.साहले आफ्नो पेशाका क्रममा देखेका वास्तविक घटनालाई नै पुस्तकमा उतारेको जानकारी दिए।
कार्यक्रमको समापनका क्रममा पत्रकार हाम्रोमत दैनिकका सम्पादक अर्जुन आचार्यले ‘गर्भको गर्व’ले नेपाली समाजमा गर्भावस्था र महिला स्वास्थ्यसम्बन्धी महत्वपूर्ण बहस सिर्जना गर्ने उल्लेख गरे।
गैरआख्यान विधाको पुस्तक ‘गर्भको गर्व’ मा ९ वटा कथा समेटिएका छन्। डा. साहको यो दोस्रो पुस्तक हो। यसअघि उनले सुरक्षित मातृत्वसम्बन्धी ‘आमा’ शीर्षकमा एक महत्त्वपूर्ण पुस्तक लेखेका थिए।