
मोरङ – जेनजी पुस्ताले विराटनगरमा पनि प्रदर्शन गरेका छन्। विराटनगरको संसारीमाइस्थान, आयल निगमस्थित ल क्याम्पस र पुष्पलाल चोकमा प्रदर्शन गरिएको छ।
सोमबार पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत ल क्याम्पसका विद्यार्थीहरूले रोडषेश चोकसम्म जुलुस निकालेर फर्केका थिए। रोडषेश चौकबाट करिब ५ सय मिटरको दूरीमा कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भवन रहेको छ।
उक्त क्षेत्रलाई प्रहरीले निषेधित क्षेत्रका रुपमा रोडषेश चौकबाटै ब्यारिकेड लगाएर रोकेको थियो। प्रदर्शनकारीहरूले सरकार भ्रष्टाचारमा व्याप्त रहेको, युवा पुस्ताले परिवर्तन चाहेकोलगायतका नारा लगाएका थिए।
करिब ४५ मिनेट रोडषेश चौकमा बिताएका उनीहरुले सरकार भ्रष्टाचारमा डुबेको, सामाजिक सञ्जाल बन्द गरेर जनताको मुख थुनेकोलगायतका नारा लगाएका थिए।
शान्तिपूर्ण निकालिएको जुलुस प्रदर्शनका क्रममा अधिकांश विद्यार्थीहरुले वेक अप युथ, ट्याक्स इज फर नेशन नट फर योर भ्याकेसन, बाउले गर्छ चोरी विदेशमा घुम्छे छोरी, जनताको कर नेताको घरलगायतका प्लेकार्ड बोकेका थिए।
यसअघि प्रदर्शनकारीले देवकोटा चौकस्थित प्रदेश सभा भवन, जिल्ला प्रशासन कार्यालयलगायतका स्थानमा प्रदर्शन गरेका थिए। देवकोटा चौकबाट उनीहरुले निषेधित क्षेत्र तोडेर प्रदेश सभा भवनको गेटसम्म पुगेर नाराबाजी गरेका थिए।