
- अभियान्ता पारुल क्षेत्री लुटिएका सामग्री फिर्ता गराउन घरघर गएका, फेसबुकमा भिडियो राखेर सामग्री फिर्ता आग्रह गरेका छन्।
- क्षेत्रीले गोप्य सूचनाका आधारमा सामान लुकाइएको स्थान पत्ता लगाएर विभिन्न ठाउँबाट सामान फिर्ता गराएका छन्।
- पूर्व विद्यार्थी नेता क्षेत्री, हाल सामाजिक कार्यमा व्यस्त, विराटनगरलाई हरियाली बनाउन अभियान चलाइरहेका छन्।
मोरङ – विराटनगर हरियाली अभियान लिएर सक्रिय रहदै आएका पारुल क्षेत्री यतिबेला स्थानीयको घरघरमा पुगेर लुटिएका सामाग्री फिर्ता गराउन थालेका छन्। भदौ २४ गते विराटनगरस्थित भाटभटेनी ब्यवसायिक भवनमा भएको लुटपाटका सामग्री खोजविन गर्दै घरघर पुगेका हुन्। विराटनगर बाहिरबाट कलेजमा अध्ययन गर्न भाडामा बस्दै आएका विद्यार्थीको कोठामा पुगेर क्षेत्रीले लुटिएका सामान फिर्ता गराउन भनेका छन्।
यसक्रममा उनले आधा दर्जनबढि घरमा पुगेर सामान फिर्ता गराइसकेका छन्। अभियान्ता क्षेत्रीले विराटनगरको त्रिमूर्ति चौक, जतुवा, सरौचियालगायतस्थानमा लुकाएर राखिएको सामग्री फिर्ता गराएका हुन्।
उनले सामाजिक सञ्जालमा फेसबुकमा भिडियो राखेर सामान फिर्ता गराउन भनेका हुन्। यसक्रममा केही विद्यार्थीले आफूहरुले सामान नल्याएको बताए पनि अन्तिममा उनीहरुको कोठबाटनै सामान उनीहरुले निकालेको अभियान्ता क्षेत्रीले जानकारी दिए।
क्षेत्रीले गोप्य सूचनाका आधारमा आफूहरु घरघरमा पुगिरहेको बताएकाछन्। विगतमा विद्यार्थीकालमा उनी अनेरास्ववियुका नेता समेत हुन्। स्थानीय महेन्द्र मोरङ कलेजमा अध्ययन गरेका क्षेत्री एमाले विभाजन भएपछि एकीकृत समाजवादीतर्फ जोडिएका थिए।
यद्यपि, पछिल्लोसमय उनी सामाजिक कार्यमा ब्यस्त रहदै आएका छन्। उनले सरसफाइसंगै विराटनगरलाई हरियो बनाउने उद्देश्यले सडक किनारमा विरुवा रोप्दै र संरक्षण गर्दै आएका छन्।