
- दाङमा स्थापन भइसकेको हरितक्रान्ती कृषि सहकारी संस्थाले १५ वर्षदेखि उन्नत जातको धान, गहुँको बीउ उत्पादन गर्दै आएको छ।
- ३० हेक्टरमा धान र २२ हेक्टरमा गहुँको बीउ उत्पादन भइरहेको छ, जसमा ४९ किसान सहभागी छन्।
- धान, गहुँ र राजमाको बीउ दाङसहित नेपालका विभिन्न स्थानमा पुऱ्याई विक्रि वितरण हुँदै आएको छ।
दाङ- दाङमा विभिन्न प्रकारका खाद्यान्न तथा तरकारी बालीको बीउ उत्पादन हुँदै आएको छ । जसले गर्दा किसानलाई उन्नत जातको धान, गहुँलगायत तरकारी बालीको बीउ प्राप्त गर्न सहज भएको छ ।
जिल्लामा उत्पादन भएको बीउ देशका विभिन्न स्थानमासमेत पुग्ने गरेको छ । लमही नगरपालिका- २ मा रहेको हरितक्रान्ती कृषि सहकारी संस्थाले विगत १५ वर्षदेखि बीउ उत्पादन गर्दै आएको छ ।
किसानलाई धान, गहुँ, राजमा लगायतको बीउ उत्पादन गरेर विक्री वितरण गर्दै आएको हो । दाङसहित देशका विभिन्न स्थानमा यहाँ उत्पादन भएको बीउ खपत हुँदै आएको छ । खाद्यभन्दा बीउ उत्पादनबाट आम्दानी लिन सकिने भएकाले किसानहरुको आकर्षण बढेको सहकारी संस्थाका व्यवस्थापक दिपक चौधरीले बताए । ‘खाद्यभन्दा बीउ उत्पादन गर्दा किसानलाई फाइदा छ । मूल्य पनि धेरै पर्ने भएकाले किसानहरुको सहभागिता पनि राम्रो छ’ उनले भने,‘यहाँ उत्पादन भएको धान, गहुँ र राजमा देशका विभिन्न स्थानमा पुर्याउन सफल भएका छौँ । बीउ उत्पादनको क्षेत्रफल पनि बढाउँदै लगेका छौँ ।’
वि.सं. २०६७ सालमा सहकारी संस्था स्थापना गरिएको थियो । सहकारी संस्थाको स्थापना कालदेखिनै किसानलाई बीउ उत्पादनमा संलग्न गराइएको छ । उन्नत जातको धान, गहुँ, तरकारीमा आलु, राज्मा लगायत उत्पादन गरिँदै आएको हो । किसानलाई खाद्यान्न बाली सँगसँगै बीउ उत्पादनमा संलग्न गराउन स्थानीय सरकारले प्रोत्साहन दिनुपर्ने माग छ । लमही नगरपालिकाले किसानहरुको मागको आधारमा बीउ उत्पादनमा प्रोत्साहन दिने नगर प्रमुख जोगराज चौधरीले बताए । ‘सहकारीले बीउ उत्पादन गरेर किसानमाझ पुर्याउनु राम्रो काम हो । स्थानीय सरकारले यस्ता कामहरुको प्रोत्साहन गर्दै आएको छ’ उनले भने,‘किसानलाई उन्नत जातको बीउ पुर्याएर उत्पादन बढाउन सकिन्छ ।’ खाद्यन्न बाली तथा तरकारी बाली उत्पादन गर्न लागत अनुसारको आम्दानी नहुने समस्या भएकाले किसानलाई बीउ उत्पादनमा संलग्न गराएर आम्दानी बढाउन सकिने देखिएको हो ।
३० हेक्टरमा धानको बीउ
सहकारी संस्थाले यसबर्ष मात्रै ३० हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादन गरिरहेको छ । किसानले धेरै मनपराएका धानका बीउ उत्पादनमा सहकारी जोडिएको हो । उन्नतजातको राम धान, सावा मन्सुली, राधा ४, हर्दिनाथ ४, ५ र ६ को उत्पादन भइरहेको हो । यी धानको बीउ किसानले मन पराएका छन् ।
गत बर्ष २५ हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादन गरिएको थियो भने यसपालि पाँच हेक्टर थप भएर ३० हेक्टरमा उत्पादन भइरहेको व्यवस्थापक चौधरीले जानकारी दिए । यो उत्पादनमा ४९ जना किसान जोडिएका छन् । यस्तै यस बर्ष गहुँको बिउँ ३५ मेट्रिक टन उत्पादन भएको छ । किसान माझ पुर्याउन प्याकेजिङ्गको काम अघि बढेको हो । धान खेतिपछी गहुँ खेती सुरु हुने भएकाले गहुँको बीउ वितरणको काम अघि बढाउन थालिएको छ । गौतम, विजय, बाणगंगा, आदित्य, बोर्लक २०२०, जिंक वान जातको गहुँको बीउ उत्पादन भएको छ । २२ हेक्टरमा गहुँको बीउ उत्पादन गर्न खेति गरिएको थियो । राजमाको पनि बीउ उत्पादन भइरहेको छ । साढे ३ हेक्टरमा गरिएको खेतिबाट २८ कुन्टल उत्पादन भएको छ ।
पश्चिमदेखि पूर्वसम्म बजार
धान, गहुँ र राजमा बीउको बजार पूर्वदेखि पश्चिम सम्म फैलिएको छ । गहुँको बीउ नेपालगञ्ज, बर्दिया, कपिलवस्तु, नवलपरासीसम्म फैलिएको छ । धानको बीउको बजार पश्चिम दाङ, बाँके, बर्दिया, कैलाली र पूर्वमा कपिलवस्तु, रुपन्देही, नवलपरासी हुदै तनहुँसम्म पुगेको छ । सल्यान, प्यूठानसम्म समेत पुग्ने गरेको छ । राजमाको बजार स्थानीय स्तरमा रहेको छ ।