
- मधेस प्रदेशमा दुई दिनसम्म चलेको जेनेरल स्ट्राइकपछि जनजीवन सामान्य हुँदै गइरहेको छ।
- शान्तिपूर्ण आन्दोलन र सरकारी भवनहरूमा तोडफोडपछि प्रशासनले कर्फ्यू हटाई सेवा सुचारु गर्न थालेको छ।
- रौतहट, पर्सा लगायतका जिल्लामा निषेधाज्ञा खुकुलो पार्दै सेवा सुरु गरिएको स्थानीय प्रशासनले जनाएको छ।
जनकपुरधाम- मधेस प्रदेशसहित देशभर दुई दिन चलेको जेन–जी आन्दोलनपछि मधेसका जिल्लाहरुको जनजीवन सामान्य बन्न थालेको छ ।
सोमबार भएको शान्तिपूर्ण आन्दोलन र मंगलबार विभिन्न सरकारी कार्यालय तथा मधेस सरकारको प्रशासनीक भवनहरुमा भएको तोडफोड तथा आगजनी पश्चात जिल्लाहरुमा लगाइएको कर्फ्यू तथा निषेधाज्ञालाई हटाउँदै स्थानीय प्रशासनले आ–आफ्नो सेवा सर्वसाधारणलाई दिन थालेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषा, सिरहा लगायतको जिल्ला प्रशासन कार्यालयले आंशिक रुपमा आइतबारदेखि सुरु सुचारु गर्न थालेको छ भने केही जिल्ला प्रशासनले जिल्लामा लगाइएको कर्फ्यू तथा निषेधाज्ञालाई खुकुलो बनाएको हो ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जिल्ला प्रशासन काार्यलय धनुषाले आजदेखि आफ्नो सेवा सुचारु गर्न लागेको जनाएका छन्।
जिल्ला प्रशासन कार्यालयमा आन्दोलनको क्रममा तोडफोड तथा आगजनी भएकाले यहाँ राहदानी सम्बन्धी सम्पूर्ण सेवाहरु र राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द रहने बाँकी सेवाहरु सुरु हुने जनाइएको छ ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार सिरहामा समेत आजदेखि आंशिक रुपमा सेवा प्रवाह सुरु हुन्छ । सिरहामा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता, प्रतिलिपि, राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाहरु असोज १ गतेदेखि मात्र सुरु हुने जनाइएको छ ।
बारामा जनजिवन सामान्य भएकाले आज बिहान ६ बजेदेखि जिल्लाभर लगाइएको निषेधाज्ञा तथा निषेधित क्षेत्र हटाएको तथा कार्यालयबाट प्रदान हुँदै आएका सम्पूर्ण सेवाहरु दिने प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जनाएका हुन् ।
आन्दोलनको क्रममा मंगलबार रौतहटमा कर्फ्यू लगाइकोमा त्यसलाई हटाएर शनिबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि जिल्लाको केही क्षेत्रमामा निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खडकाले जनाए ।
पर्सामा पनि निषेधाज्ञा तथा कर्फ्यूलाई खुकुलो बनाइएको हो । यहाँको शान्ति सुरक्षाको अवस्था सुदृढ हुँदै गएको अवस्थामा शनिबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि वीरगञ्ज क्षेत्रमा बिहान ५ बजेदेखि राति ९ बजेसम्म निषेधाज्ञा र राति ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले जनाएका छन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जिल्लामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) र ६ (ख) बमोजिम जिल्लामा लगाइएको कर्फ्यु तथा निषेधाज्ञा शनिबार बिहान ११ बजेदेखि फिर्ता लिएको जनाएका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले समेत जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै जिल्लामा कायम रहेको कर्फ्यु तथा निषेधाज्ञा शनिबार बिहान १० बजेदेखि हटाइएको जनाए ।
सर्लाहीमा लगाइएको कर्फ्युलाई हटाएर केही क्षेत्रमा निषेधाज्ञाा जारी गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताए ।