
- जेनजी आन्दोलनसँगै मुलुकमा नयाँ प्रधानमन्त्री बने पनि प्रदर्शनमा ७० जनाको मृत्यु र क्षति भएको छ।
- मंगलबार बेलुका विराटनगरमा सरकारी संरचना तोडफोड भएको खबर सामाजिक सञ्जालमा भाइरल भएको छ।
- स्थानीय व्यवसायीहरूले हिमालय रोडमा संरचना निर्माणले व्यापारमा असर गरेको भन्दै विरोध जनाउँदै आएका छन्।
जेनजी आन्दोलनसँगै मुलुकले नयाँ प्रधानमन्त्री पाएको छ। गत सोमबार र मंगलबार दुई दिनको व्यापक प्रदर्शनका क्रममा मुलुकको राजनीतिक कोर्ष नै फेरिएको छ। तथापि, यसक्रममा कम्तीमा ७० जनाको मृत्यु र ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको छ। सोमबार सरकारले गरेको कारबाहीमा १९ जना युवाको मृत्यु भएपछि मंगलबार विभिन्न शहरमा राजनीतिक दलका नेता, सरकारी कार्यालय, निजी क्षेत्रका सम्पत्तिमा क्षति पुगेको छ। यसक्रममा लुटपाट र आगजनी व्यापक भयो।
यसैको फाइदा उठाउने क्रममा विराटनगर वडा नम्बर ९ स्थित हिमालय रोडमा बनेको सरकारी संरचनामा समेत केही व्यक्तिले मंगलबार बेलुका तोडफोड गरेका छन्। विराटनगर महानगरपालिकाद्वारा विगत ४ वर्षअघि निर्माण कार्य सम्पन्न भएको सडकखण्ड स्थानीय र त्यहाँ व्यवसाय गरिरहेकाहरूले निर्माण भएका संरचनाको विरोध गरिरहेका छन्।
सोही क्रममा मंगलबार बेलुका करिब ७ बजे सोही सडकमा रहेको एक घरधनी विनोद पोद्धारले आफ्ना घरका सुरक्षा गार्ड र अर्को एक व्यक्तिलाई अह्राएर संरचना भत्काएका हुन्। सामाजिक सञ्जालमा यतिबेला भाइरल भएको २६ सेकेन्डको भिडियोमा ती व्यक्ति आफैं घटनास्थलमा उपस्थित भएर केही व्यक्तिलाई भौतिक संरचना भत्काउन खटाएको देखिएको छ। यसक्रममा महानगरले अघि सारेको सौन्दर्यकरण अभियानका क्रममा वृक्षारोपण गरिएको बिरुवासमेत काटिएको छ।
भिडियोमा देखिएका पोद्धारका अनुसार आन्दोलनका क्रममा केही व्यक्तिले सडकमा रहेको भौतिक संरचना भत्काएको अवस्थामा आफू उभिएको प्रष्टाएका छन्। जेनजी आन्दोलनका क्रममा केही युवाहरू आएर भत्काएको उनको भनाइ छ। यद्यपि, सामाजिक सञ्जालमा भिडियो राखेका राकेश कर्णले भने सो घटनामा पोद्धारले नै व्यक्ति खटाएर संरचना भत्काएको दाबी गरेका छन्। भिडियोमा देखिएका व्यक्ति नै घरधनी रहेको दाबी गर्दै उनले भने, “उहाँले आफ्नै घरअघिल्तिर सरकारी संरचना भत्काउँदा कसैलाई रोक्न सक्नुभएन। पछि हामी आफैं गएर संरचना नभत्काउन भनेपछि उनीहरू भित्र गएका थिए।”
विराटनगर बजारको केन्द्र मानिने ट्राफिक चौकबाट पश्चिम महेन्द्र चौकसम्म करिब १ सय ५० मिटरको दूरीमा रहेको हिमालय रोडलाई नयाँ स्वरूप दिन महानगरले काम गरेको हो। १ करोड ५० लाख रुपैयाँ बढिको लागतमा निर्माणसँगै सो सडकखण्डमा विवाद पनि धेरै पटक भएको छ। स्थानीय व्यवसायीहरूले समेत सो सडकमा गरिएको संरचना निर्माणको विरोध गर्दै आएका छन्। बजार क्षेत्रबाट राजमार्ग निस्कने सहज र फराकिलो सडकलाई साँघुरो बनाइएको उनीहरूको आरोप छ।
अघिल्लो कार्यकालमा महानगरका जनप्रतिनिधिले जुन सोचले रोडलाई सौन्दर्यकरण गरे, त्यसअनुरूप त्यहाँ होटल व्यवसाय कम भएको र पर्यटक नआउने बुझाइ छ। भौतिक संरचना बनेपछि हाल सो क्षेत्रको व्यवसाय समेत कम हुँदै आएको उनीहरूको भनाइ छ। सो सडक खण्डमा करिब ७० वटा पसल र वित्तीय संस्था रहेका छन्।