
- धनुषा प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट विभिन्न मुद्दाका १४ कैदीलाई पक्राउ गरेको जानकारी दिएको छ।
- पक्राउ परेकाहरूमा सिन्धुली, जलेश्वर र केन्द्रीय कारागारबाट भागेका कैदीहरू रहेको प्रहरीले बताएको छ।
- पक्राउमा चार नाइजेरियन नागरिकसहित लागूऔषध, कर्तव्य ज्यान, जबरजस्ती करणी तथा अन्य मुद्दाका अभियुक्तहरू परेका छन्।
जनकपुरधाम – धनुषा प्रहरीले जेन–जी आन्दोलनको क्रममा देशको विभिन्न कारागारबाट भागेका ४ विदेशी नागरिक सहित १४ जनालाई पक्राउ गरेको छ।
आन्दोलनको क्रममा गत मंगलबार विभिन्न कारागारबाट भागेका कैदीहरुलाई पक्राउ गर्ने क्रममा नेपाल–भारत सीमा क्षेत्र तथा कैदीहरुको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहका अनुसार पक्राउ पर्ने कैदीमा सिन्धुली कारागार, जलेश्वर कारागार र केन्द्रीय कारागारबाट भागेका कैदीहरु रहेका छन्।
प्रहरीले मैनाथपुर बोर्डर र खजुरी नाकाबाट नाईजेरियन नागरिक ३८ वर्षीय मो।लामिन्स डाबो, ३५ वर्षीय ग्लेरी वडे, २५ वर्षीय लारेशन ब्रिटो र ५५ वर्षीय इमानुएल ओगुडा उजोइग्वे पक्राउ गरेको हो।
यस्तै, धनुषाको सबैला नगरपालिका ३ बस्ने कर्तव्य ज्यान मुद्दाका २० वर्षीय भरोसी दास तत्मा, जबरजस्ती करणी मुद्दाका मिथिला बिहारी नगरपालिका बस्ने २५ वर्षीय ओम शंकर यादव, बहु बिबाह मुद्दामा जलेश्वर कारागारमा रहेका ३५ वर्षीय शिवम मुखिया, कर्तव्य ज्यान मुद्दामा सिन्धुली कारागारमा रहेका ३० वर्षीय हरिराम यादव, अंगभंग मुद्दामा कारागारमा रहेका क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने ३२ वर्षीय बिनोद शर्मालाई पक्राउ गरिएको हो।
यस्तै, सवारी अंगभंग मुद्दामा कारागारमा रहेका २६ वर्षीय समिर दास, कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका ३० वर्षीय सत्यनारायण यादव, लागूऔषध मुद्दामा कारागारमा रहेका ७० वर्षीय खिचडी बाबा भन्ने राजकुमार महतो कोइरी, ज्यान सम्बन्धी कसुरमा रहेका ४४ वर्षीय संजय कुमार झा र लागूऔषध मुद्दामा कारागारमा रहेका भारतको बिहार राज्य जिल्ला मधुवनी ग्राम मैनाथपुर का २० वर्षीय श्रवण मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।