
काठमाडौँ – पूर्व मुख्यसचिव तथा क्यानडाका लागि पूर्व नेपाली राजदूत डा. भोजराज घिमिरे एकै साथ दुईवटा गजलकृति लिएर आएका छन्।
काठमाडौंमा उक्त दुवै कृतिको वरिष्ठ गीतकार रत्नशमशेर थापाले विमोचन गरेका छन्। पछिल्लो समय नेपाली गजलमा व्यापक प्रयोग भइरहेको र अत्यन्तै विवादको कारण पनि बनिरहेको छन्द–बहरमै केन्द्रित रहेर लेखिएका २ सय १ गजलको कृति हो ‘निर्बन्ध आकाश’। ‘उन्मुक्त किनारा’ लोक र उच्चार्य सममात्रिक लयमा लेखिएको कृति हो।
नेपाली गजलको विकास, विस्तार र पिरस्कारका लागि क्रियाशील संस्थाहरू अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले आयोजना गरेको कार्यक्रममा उन्मुक्त किनारा पुस्तकमाथि टिप्पणी गर्दै समालोचक शैलेन्द्र अधिकारीले गजलको शास्त्रीयताले गजल छन्द–बहरमै हुनुपर्ने मान्यता राख्ने बताए।
निर्बन्ध आकाशमाथि टिप्पणी गर्दै समालोचक प्रभाती किरणले छन्द–बहरमा लेख्नु चानचुने कुरा नभएको बताए। लेखक विज्ञान र अर्थशास्त्रका विद्यार्थी हुँदाहुँदै पनि छन्द–बहर जस्तो जटिल क्षेत्रमा अध्ययन गरेर सयौँ गजल, त्यसमा पनि एक सय बढी छन्द–बहरमा रचना गर्नु निकै महत्त्वपूर्ण उपलब्धि र प्राप्ति भएको उनले बताए।
अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले निर्बन्ध आकाशभित्रका गजलहरूमा छन्द–बहरको उचित पालना भएको र आगामी दिनमा अझ परिस्कृत गजलकृति घिमिरेबाट आउने अपेक्षा गरे।
त्यसैगरी, प्राडा कृष्णहरि बरालले छन्द–बहरमा गजल लेखनले पछिल्लो समय तीब्रता पाइरहेको उल्लेख गर्दै छन्द र बहरमा गजल लेख्नु ठूलो साधना भएको बताए। छन्द, बहरमा बढी ध्यान दिँदा भाव र प्रभावमा चिप्लिनसक्ने खतरा हुने भन्दै उनले भोजराज घिमिरेका गजलमा त्यो समस्या कम भएको उल्लेख गरे।
सर्जक भोजराज घिमिरेले आफू गजलको विद्यार्थी भएको र सिकाइकै क्रममा ४ वटा गजलकृति प्रकाशन गरेको बताए। गजलकार जय गौडेल र राधा कँणेलले निर्बन्ध आकाश कृतिबाट गजल वाचन गरेका थिए। पुस्तक कन्दरा पब्लिकेशनले प्रकाशन गरेको हो।