- प्रतिनिधिसभा हठात् विघटन हुँदा ३० वटा विधेयकहरू विधि निर्माणको विभिन्न चरणमा निष्क्रिय भएका छन्।
- २३ सरकारी र ७ गैरसरकारी विधेयक निष्क्रिय भएका, जसमा केही मानव अधिकार र ऊर्जा विधायन सम्बन्धी छन्।
- प्रतिनिधिसभा भवनमा आगजनीका कारण सरकार र संसद्को ठूलो स्रोत र समय खेर गयो।
काठमाडौँ– जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण प्रतिनिधिसभा हठात् विघटन हुँदा ३० वटा विधेयक निष्क्रिय भएका छन्।
२०७९ मंसिर ४ गते भएको चुनावबाट गठित प्रतिनिधिसभा भदौ २७ गते विघटन हुँदा विधि निर्माणको विभिन्न चरणमा पुगेका विचाराधीन विधेयकहरु निष्क्रिय भएका हुन्।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका हुन्। प्रतिनिधिसभामा नियमावलीअनुसार प्रतिनिधिसभामा दर्ता भएर राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी रहेका विधेयक जुनसुकै अवस्थामा भए पनि स्वतः निष्क्रिय हुने व्यवस्था छ।
प्रतिनिसभामा उत्पति भएर राष्ट्रियसभामा पुगेका र राष्ट्रिसभामा उत्पति भएर प्रतिनिधिसभाको जुनसुकै चरणमा रहेका विधेयक पनि एकमुष्ट निष्क्रिय भएको संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
गिरीका अनुसार प्रतिनिधि सभामा उत्पत्ति भएका २३ र राष्ट्रिय सभामा उत्पत्ति भएको ७ वटा विधेयक निष्क्रिय छन्। तीमध्ये सरकारी विधेयक २७ र गैरसकारी विधेयक तीनवटा रहेका छन्।

गैररकारी मध्ये पनि दुईवटा प्रतिनिधिसभामा दर्ता भएका हुन् भने एउटा राष्ट्रियसभामा दर्ता भएको रहेको छ। प्रतितिनिसभामा दर्ता भएका दुई गैरसरकारी विधेयकमा मानव शरीर जलन नियन्त्रण तथा सजाय विधेयक, २०८१ र जाति, रंग, क्षेत्र, भेषभूषा राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव (कसूर र सजाय) विधेयक, २०८१ हुन्।
राष्ट्रियसभामा दर्ता भएको राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ पनि निष्क्रिय भएको छ।
प्रतिनिधिसभामा सैद्धान्तिक छलफल सकिएको नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ निष्क्रिय भयो। शिक्षा समितिबाट सदनमा प्रतिवेदनसहित फिर्ता आएको विद्यालय शिक्षा विधेयक, २०८० विधेयक पनि निष्क्रिय भएको छ।
प्रतिनिधिसभाबाट गएर राष्ट्रियसभाबाट सन्देशसहित फिर्ता आएको जलस्रोत विधेयक, २०८१ र संघीय निजामती सेवा विधेयक, २०८० पनि निष्क्रिय भएको प्रवक्ता गिरीले जानकारी दिए।
प्रतिनिधि सभामा उत्पत्ति भई सन्देशसहित राष्ट्रिय सभामा पठाइएको वैकल्पिक विकास परिचालन विधेयक, २०८१ र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ पनि सकिएको छ।

दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पठाइएकोमा राष्ट्रपतिबाट पुनः विचारको लागि फिर्ता आएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन। विधेयक, २०७९ पनि निष्क्रिय भएको छ।
त्यस्तै प्रतिनिधिसभाको समितिमा रहेका १४ वटा र राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन रहेका ६ वटा विधेयक पनि निष्क्रिय भएका छन्। आन्दोलनकारीले संसद भवन नयाँ बानेश्वर नै जलाइदिएका छन्।
विधेयक निर्माणका क्रममा सरकार र संसद्को ठूलो स्रोत र समय खर्च भएको हुन्छ। यी ३० विधेयक निष्क्रिय भएसँगै त्यो सबै स्रोत र समय बालुवाको पानीमा परिणत भएको छ।
प्रतिनिधि सभाका विभिन्न समितिमा विचाराधीन रहँदा निष्क्रिय विधेयकहरुः
१.विद्युत विधेयक, २०८०
२. निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०
३. बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०
४. धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१
५. नेपाल प्रहरी विधेयक, २०८१
६. सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१
७. निकासी पैठारी (नियमन) विधेयक, २०८१
८. नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१
९. नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१
१०. मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१
११. औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२
१२. राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२
१३. सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२
१४. बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२
राष्ट्रियसभाकाको विधायन व्यवस्थापन समितिमा निष्क्रिय भएका विधेयकहरुः
१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७
२. आमसञ्चार परिषद् विधेयक, २०८१
३. नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१
४. नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१
५. तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१
६. पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१

भर्खरै
लोकप्रिय






































































































































































































