
मोरङ – विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार जेन–जी आन्दोलनका क्रममा प्रदेशमा १० जनाको मृत्यु भएको छ।
कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक दीपक पोखरेलका अनुसार भदौ २३ र २४ गते भएको घटनाक्रममा हालसम्म १० जनाको मृत्यु भएको हो।
मृतकमध्ये पाँच जनाको पहिचान खुल्न बाँकी रहेको उनले बताए। उनका अनुसार धरानको भाटभटेनी सुपरमार्केटमा ४ जना र विराटनगरको भाटभटेनीमा एक जनाको शव जलेको अवस्थामा फेला परेको थियो।
झापाको अर्जुनधारामा ३० वर्षीय गोपाल सेढाई, ३२ वर्षीय दिनेश राजवंशी र पाँचथर हिलिहाङका ३० वर्षीय कमल भण्डारीको मृत्यु भएको थियो। त्यसैगरी इटहरीमा २३ वर्षीय अभिषेक श्रेष्ठ र मोहन सरदारको मृत्यु भएको उनले पुष्टि गरे।
भाटभटेनीमा भेटिएका शवको पहिचान खुलिनसकेको उनले बताए।
उनले भने, ‘१ सय १४ जनाभन्दा बढी संख्यामा प्रहरी घाइते भएका छन्। एकजना आइसियु र तीनजना अस्पतालमा भर्ना हुनुभएको छ। भाटभटेनीमा भेटिएको कंकालको पहिचान गराउन चुनौती नै देखिएको छ। अहिलेसम्म त्यसविषयमा कसैले परिवार सदस्य हराएको भनेर दाबी गरेको अवस्था छैन।’