
म्याग्दी – म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६२ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ। बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट गत भदौ २५ गते बिहान तोडफोड गरी ७६ जना कैदीबन्दी भागेका थिए।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले १४ जनाबाहेक सबै कारागार फर्काइएको जानकारी दिए। फरार कैदीबन्दीको खोजीमा प्रहरी टोली परिचालन भएको छ।
काठमाडौँबाट भागेर आएका एक र कास्कीबाट आएका दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। कारागारमा भएका ८८ जनामध्ये महिला बल्कमा रहेका छ जना, पुरुष बल्कका छ जना बिरामी र हिँड्न नसक्नेबाहेक सबै भागेका थिए।
प्रहरी निरीक्षक पौडेलका अनुसार कैदीबन्दी भगाउन सहयोग गर्ने पाँच जनालाई पनि पक्राउ गरेर कारागार ऐन, २०७९ बमोजिम मुद्दा चलाइएको छ। बेनी नगरपालिका–२ खबराका २९ वर्षीय अर्जुन जिसी, २६ वर्षीय डिलबहादुर सापकोटा, बेनपा–१ का २६ वर्षीय कृष्णबहादुर मगर, २७ वर्षीय सुनील थापामगर, ३१ वर्षीय सुशन थापामगर र १९ वर्षीय अभिषेक परियार हाल प्रहरी हिरासतमा छन्।