 
                            मंसिर २१ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि विराटनगरस्थित रानी भन्सार नाका सोमबार बेलुका ६ बजेदेखि बन्द गरिएको छ। विराटनगर भन्सार कार्यालयका प्रवक्ता एवं अधिकृत सुशीलकुमार थापाका अनुसार नेपाल भारत सुरक्षा बैठकबाट निर्णयानुसार बन्द गरिएको भन्सार नाका २१ गते बेलुका ६ बजेबाट खुल्नेछ।
सवारीसाधन, मालवाहक सवारी भने भारततर्फ नै रोकिएका छन्। बन्दका क्रममा दुवैतर्फ सुरक्षाअवस्था कडा बनाइएको छ। सवारी साधनमा रोक लगाइए पनि मानिसको दैनिक आवतजावतमा भने रोक नहुने बताइएको छ।
दुवैतर्फको सीमा क्षेत्रमा अवस्थित सुरक्षाफौजले निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षाअवस्था कडा बनाएको छ। भारतबाट आउनेहरुमा दुवैतर्फको सुरक्षा निकायको विशेष निगरानी रहनेछ। नाका २१ गते निर्वाचन सम्पन्न भएपछि बेलुका ६ बजेबाट पुन: सुचारु हुने भन्सार कार्यालयले जनाएको छ।
मुलुककै ठूलो भन्सार नाकामा गनिने यस विराटनगर रानी भन्सार नाकामा दैनिक ८ देखि ९ करोड राजस्व संकलन हुने गर्छ। अर्कोतर्फ साउन महिनाको अन्तिम साता तराईमा गएको बाढीमा परी भारतको मिरगञ्जस्थित एउटा पुल जीर्ण भएपछि, २५ टन माथिका मालवाहक सवारी सुनसरीको भीमनगर नाकाबाट भित्रिने गरेको छ।
पुल निर्माणका लागि पटकपटक यहाँका व्यवसायीले माग गरेपनि हालसम्म पुल पुनः निर्माणको कार्य हुन सकेको छैन। हाल यस नाकाबाट २२ टनसम्मको मालवाहक सवारी आउने गरेको भन्सार कार्यालयले जनाएको छ। यस नाकाबाट मुख्यगरी उद्योगको कच्चापदार्थ, चिनी, दलहन आयात हुने गरेको छ। त्यसैगरी कपडाको आयातमा कमी देखिएको यस भन्सारबाट बढी मात्रामा चाउचाउ निर्यात हुने गरेको छ।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































